चितवनको देवनगरमा निजी खर्चमा निर्माण गरिएको एथलेटिक्स ट्रयाकको शनिबार उद्घाटन गरिएको छ। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले चितवनका स्थायी बासिन्दा देबेन लोहनीले नीजि खर्चमा निर्माण गरेको एथलेटिक्सको ट्रयाकको शनिबार उद्घाटन गरेका हुन्।
देवनगरका स्थायी बासिन्दा लोहनले करिब ३० लाख रुपैयाँ नीजि खर्चमा हबेलीमा २ सय मिटरको एथलेटिक्स ट्रयाकको निर्माण गरेका छन्। करिब ११ बिगाहा क्षेत्रफलमा फैलिएको आफ्नो फार्म हाउसको पोखरीलाई पुरेर उनले एथलेटिक्सको संरचना तयार पारेका हुन्।
खेलकुद संरचनाको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नीजि क्षेत्रको लगानीबाट मात्र खेलकुद विकासको फड्को मार्न सक्ने बताए। उनले खेलकुदलाई पर्यटन, आर्थिक, स्वास्थ्य, राष्ट्रिय गौरव लगायत विविध क्षेत्रसँग जोड्न सकिने उल्लेख गर्दै यसलाई उधोगको रुपमा विकाश गर्नुपर्ने धारणा राखेका थिए।
व्यवसायी लोहनले स्थानीय स्तरमा खेलाडी उत्पादनमा सहयोग पुगोस् भन्ने उद्धेश्यले आफुले खेलकुदको संरचना निर्माण गरेको बताए। उनले स्थानीयदेखि राष्ट्रिय स्तरका खेलाडीहरु अन्तराष्ट्रिय प्रतियोगिताका लागि ट्रयाकमा आएर अभ्यास र तयारी गर्न सक्ने बताउँदै आफुले खेलाडीलाई सक्दो सहयोग गर्ने धारणा राखेका थिए।
व्यवसायीक रुपमा चितवनमा लेक ट्वान्टी थाउजेन्ट फार्म एण्ड रिट्रिट सञ्चालन गरेका लोहनीले रिसोर्टभित्र अन्तराष्ट्रिय मापदण्डको पौडी पोखरी समेत निर्माण गरेका छन्। खेलकुद र कलालाई पर्यटन गर्न जोड्ने उद्धेश्यका साथ आफु अघि बढिरहेको लोहनीको भनाई छ। सो अवसरमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई सम्मान गरिएको थियो।
ट्रयाकको उद्घाटन गर्दै देबनगर हबेलीमा दुई दिने एलटीके ट्रयाक एण्ड फिल्ड प्रतियोगिताको सुरुवात समेत गरिएको छ। ट्रयाक एण्ड फिल्डका १४ विधा समावेश गरेर आयोजना गरिएको प्रतियोगितामा देशभरका ३ सय बढी खेलाडी सहभागी छन् । दुई दिनसम्म चल्ने प्रतियोगिताका मुख्य स्पर्धा भने आईतबार बिहान सञ्चालन हुने आयोजकले जनाएको छ।