नेपाल ट्रायाथलन संघको आयोजनामा पोखरामा भएको एसिया ट्रायाथलन कपको उपाधि पुरुषतर्फ जापानका जेन्टा युचिदा र महिलातर्फ काजाकिस्तानकी इकातेरिना सावालिनाले उचालेका छन्।
पौडी, साइक्लिङ्ग र दौडको दूरी जेन्टाले ५३ मिनट १४ सेकेन्ड तथा इकातेरिनाले १ घन्टा ०२ मिनट २० सेकेन्डमा पूरा गर्दै उपाधि उचाले।
पुरुषतर्फ दोश्रो स्थानमा जापानकै क्योतारो ओसिकावा रहे। क्योतारोले उक्त दुरी ५३ मिनट २२ सेकेन्डमा पूरा गरे ।
महिलातर्फ जापानकी हिराकु फुकुओकाले १ घन्टा २ मिनट ५३ सेकेन्डका साथ दोश्रो र काजाकिस्तानकी नादेज्दा बेक्मागनबेताभाले १ घन्टा ४ मिनट १४ सेकेन्डका साथ तेश्रो भइन्।
शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले मेडल, ट्रफी, प्रमाण पत्रका साथै नगद ६३० डलर, ५२५ डलर र ४२० डलर प्राप्त गरे ।
आदर्श र प्रज्ञालाई दक्षिण एसियाली उपाधि
दक्षिण एसियाली ट्रायाथलन च्याम्पियनसिपको उपाधि भारतका आदर्श मुरलीधरण नायर सिनिमोल र प्रज्ञा मोहनले प्राप्त गरेका छन्। आदर्शले ५९ मिनट १० सेकेन्डमा दुरी पूरा गर्दै उपाधी जितेका हुन्।
यस्तै पहिलो संस्करणकी बिजेता प्रज्ञाले १ घन्टा ६ मिनट २२ सेकेन्डमा दुरी पुरा गर्दै उपाधि जितेकी हुन्। उनले आफ्नो समयमा अघिल्लो संस्करणमा भन्दा ३ मिनटले सुधार गरेकी हुन् ।
भारतीय खेलाडीहरुको दबदबा रहेको स्पर्धामा राहुल धनजी सिन्धेले ५९ मिनट ४२ सेकेन्डका साथ रजत र विश्वनाथ यादवले ५९ मिनट ४३ सेकेन्डका साथ कास्य जित।
यस्तै महिलातर्फ मानषी मोइतेले १ घन्टा ८ मिनट १८ सेकेन्डका साथ रजत र संजना जोशीले १ घन्टा १० मिनट ८ सेकेन्डका साथ कास्य पाईन् ।
राष्ट्रियमा बसन्त र सोनी विजयी
राष्ट्रियतर्फको प्रतिस्पर्धामा सेनाका बसन्त थारु र एपिएफकी सोनी गुरुङ्गले जित स्वर्ण हात पारे। थारुले १ घन्टा ३ मिनट २ सेकेन्डमा दुरी पुरा गरे भने सोनीले १ घन्टा ११ मिनट १७ सेकेन्डमा दुरी पुरा गरिन्।
दोश्रो स्थानमा रहेका दिपेश चौधरीले १ घन्टा ५ मिनट ६ सेकेन्ड र तेश्रो स्थानमा रहेका मुकेश थारुले १ घन्टा ७ मिनट ५५ सेकेन्डमा दुरी पुरा गरे।
यस्तै महिला तर्फ केशरी थापा मगरले १ घन्टा २१ मिनट २ सेकेन्डका साथ रजत र सस्तिका भण्डारीले १ घन्टा ३२ मिनट ११ सेकेन्डका साथ कास्य पाए ।
प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत, बंगलादेश र नेपाल गरि ७ राष्ट्रका पुरुष तर्फ ३७ र महिला तर्फ २० गरि ५७ खेलाडीहरुले सहभागिता जनाएका थिए।