धुलिखेलको हिमालयन मोटरल्यान्डमा विगत तीन दिन सम्म फरक प्रकारको रौनकता देखियो। विभिन्न ब्रान्डका बाइकमा सवार राइडरहरूले हिमालयन मोटरल्यान्डको सर्किटमा तीव्र गतिमा बाइक हुँइक्याउँदा धेरैको ध्यान त्यतैतिर तान्न सफल भयो।
तीन दिन सम्म विभिन्न प्रकारको छनोट खेल पश्चात् हिमालयन मोटरल्यान्डमा बाइक रेसिङ प्रतियोगिता ‘नेपाल रेसर कप २०२२’ फाइनल खेल शनिबार सम्पन्न भयो।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को सहयोगमा मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो मोटरसाइकल रेसिङ प्रतियोगिताको फाइनल खेलमा १५० सीसीतर्फ सन्दीप घिमिरे विजेता बने भने सुजन थापा मगर र महेश राना मगरले दोस्रो र तेस्रो स्थान हासिल गरे।
त्यसैगरी २०० सीसीतर्फ राजकुमार कार्की विजेता बने भने विवेश श्रेष्ठ र भिम होनाले क्रमशः दोस्रो तर तेस्रो स्थान हासिल गरे।
१५० सीसी अन्तर्गत १५० देखि १८० सीसी सम्म र २५० सीसी अन्तर्गत २०० देखि २२० सीसी सम्मका बाइक राइडर सहभागी थिए। १५० सीसीमा ४८ जना र २०० सीसीमा २४ जना प्रतियोगीले भाग लिएका थिए।