विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका जनता अहिले अन्योलमा छन्।
अन्योलमा पर्नेमा अफगानिस्तानका दुई जना पारा ओलम्पिक खेलाडी पनि छन्। आगामी साता जापानको राजधानी टोकियोमा सुरू हुने पारा ओलम्पिकमा उनीहरूको सहभागिता अनिश्चित छ।
यसअघि टोकियोमा खेल्ने पक्का भएकी तोक्वान्दो खेलाडी जाकिया खुददादीले सहयोग गर्न अपील गरेकी छिन्।
उनले दुई दिनअघि अफगानिस्तानको राजधानी काबुलबाट एउटा भिडिओ सार्वजनिक गर्दै आफूलाई सहयोग गर्न अपील गरेकी हुन्।
स्थानीय भाषामा बोलिकी उनको भिडिओ सामाचार संस्था रोयटर्सले अंग्रेजीमा अनुवाद गरेको छ।
‘म अहिले एउटा घरभित्र कैद छु। यो घर बाहिर आत्मविश्वासका साथ बाहिन जान सक्दिन,’ उनले भिडिओमा भनेकी छिन्।
‘मेरो उद्देश्य टोकियो २०२० प्यारालिम्पिकमा भाग लिने हो। कृपया मेरो हात समाउनुहोस् र मलाई मद्दत गर्नुहोस्।’
जाकिया पारा ओलम्पिक खेलमा भाग लिने पहिलो अफगान महिला खेलाडी हुँदै थिइन्। उनीसँगै एथ्लेटिक्स खेलाडी हुसेन रासोली पनि टोकियो जाने कार्यक्रम थियो।
‘त्यहाँ (काबुलमा) कुनै व्यवसायिक उडान छैन,’ अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटिका अध्यक्ष एथ्ड्रियु पार्सन्सले बुधबार भनेका छन्।
‘हामी सबैले काबुलमा एयरपोर्टको दृष्य देखेका छौं। खेलाडीहरूलाई टोकियो ल्याउने कोसिस गर्ने कुनै सुरक्षित तरिका नभएको हामी सुरूदेखि नै स्पष्ट छौं।’
‘मैले भिडिओ सन्देश देखेँ,’ उनले अघि भनेका छन्, ‘यो साँच्चै दु:खद् हो। यसले मेरो मुटु छियाछिया पार्यो।’
पारा ओलम्पिकमा अफगानिस्तानको खासै ठूलो उपस्थिति छैन। उसले प्रतियोगितामा अहिलेसम्म दुई भन्दा बढी खेलाडी पठाएको छैन र पदक पनि जितेको छैन।
यसअघि गत ८ अगस्टमा सकिएको टोकियो ओलम्पिकमा अफगानिस्तानका पाँच खेलाडीले भाग लिएका थिए।
ओलम्पिकमा भने अफगानिस्तानले दुई मेडल जितेको छ। सन् २००८ र २०१२ मा तेक्वान्दो खेलाडी रोहुल्लाह निक्पाइले कास्य पदक जितेका थिए।
रोहुल्लाकै प्रेरणामा पारा तेक्वान्दो खेलाडी जाकिया खेलमा आकर्षित भएकी थिइन्। उनले अन्तर्वार्ताहरूमा अन्य महिला खेलाडीलाई उत्प्रेरणा दिने उद्देश्यले आफू खेलकुदमा लागेको बताउने गरेकी थिइन्।
तालिवानको शासनमा खेलकुदको भविष्य कस्तो हुन्छ अहिले स्पष्ट छैन। यसअघि तालिवानले सन् १९९६ देखि २००१ सम्म शासन गर्दा महिलालाई खेलकुदमा प्रतिबन्ध लगाएको थियो।
अफगानिस्तानका धेरै जसो प्रभावशाली खेलाडी अहिले पनि देशमा बस्दैनन्।
देश गृहयुद्धमा फसे पनि अफगानिस्तानले खेलकुदमा भने राम्रै प्रगति गरिरहेको थियो। खासगरी क्रिकेटमा प्रगति गरेको अपगानिस्तान टी-२० को विश्व वरीयतामा सातौं स्थानमा छ।
अफगानिस्तानले आगामी अक्टोबरमा हुने टी-२० विश्वकप खेल्ने तय छ।
तालिवानले सत्ता हातमा लिएपछि विशेषगरी महिला खेलाडी त्रसित देखिएका छन्। जुन पारा तेक्वान्दो खेलाडी जाफियाले सार्वजनिक गरेको भिडिओमा स्पष्ट देखिन्छ।