पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा पहिले चीन भ्रमणमा गएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको प्रधानमन्त्री र पूर्वप्रधानन्त्रीहरूको बैठकमा प्रचण्डले आफूले पनि भारत भ्रमणको परम्परालाई तोड्दै पहिले चीन भ्रमण गरेको बताएका हुन्।
'तपाईंहरूले बुझ्नु भएकै छ। परम्परादेखि चल्दै आएको पहिलो विदेश भ्रमण भारतबाट गर्ने चलन तोडेर मैले चीन भ्रमण गरेको थिएँ,' प्रचण्डको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले भने।
प्रचण्डले केही अघि भारतीय पत्रिका द हिन्दुसँगको अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले पहिले भारत भ्रमण नगरी चीन भ्रमण गर्नुलाई चाइना कार्ड खेलेको भन्ने अभिव्यक्ति दिएका थिए।
देशको प्रधानमन्त्रीको विदेश भ्रमणलाई लिएर प्रचण्डले दिएको अभिव्यक्तिप्रति चर्को आलोचना भएको थियो।
आइतबार प्रधानमन्त्री ओलीसहित अरू पूर्वप्रधानमन्त्री सहभागी बैठकमा भने उनले पहिले चीन भ्रमण गर्नु अनुचित नहुने बताएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
माओवादी केन्द्रकै वरिष्ठ उपाध्यक्ष रहेका पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओली पहिलोपटक चीन भ्रमणमा जाँदा भएका सम्झौताहरू ऐतिहासिक भएको बताएका थिए।
'त्यसबेला पारवहन सन्धी गरेर ब्रेकथ्रु गर्नुभएको थियो। त्यो सम्झौतालाई थप कार्यान्वयन गर्न यो भ्रमणले सहयोग पुगोस्,' उनको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री ओलीको सचिवालयले भनेको छ।