जापानमा जारी ३२ औं गृष्मकालीन ओलम्पिकमा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन्।
शुक्रबार बिहान भएको महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडीमध्ये आठौं भइन्। व्यक्तिगत समयसमेत सुधार गर्न नसकेकी उनले १२.९१ सेकेन्डमा दूरी पूरा गरिन्। सरस्वतीले ओलम्पिकमा व्यक्तिगत समय सुधार गर्ने लक्ष्य राखे पनि सफल हुन सकिनन्।
युनिभर्सल कोटामा टोकियो ओलम्पिकमा सहभागि भएकी सरस्वतीको बेस्ट टाइमिङ १२:५५ सेकेन्ड हो। उनले २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा उक्त टाइमिङ राखेकी थिइन्। त्यसअघि २०१९ मै कतारको दोहामा भएको वर्ल्ड च्याम्पियनसिपमा उनले १२.७२ सेकेन्ड टाइमिङ निकालेकी थिइन्।
प्रारम्भिक चरणमा तीन हिटमध्ये नेपालकी सरस्वती हिट २ मा थिइन्। प्रारम्भिक चरणमा कूल २७ खेलाडीले प्रतिस्पर्धा गरेकोमा हरेक हिटको शीर्ष तीन र अर्को एक उत्कृष्ट समय हुने खेलाडी गरी १० जना महिला १०० मिटरको राउण्ड १ मा प्रवेश गरेका छन्।
महिला १०० मिटरमा देवीमाया पनेरूको नाममा राष्ट्रिय कीर्तिमान छ। उनले सन् १९९९ को सागमा १२.१९ सेकेन्डको कीर्तिमान बनाएकी थिइन्।
सरस्वती बाहिरिएसँगै टोकियो ओलम्पिकमा नेपालको यात्रा सकिएको छ।
नेपालबाट ५ खेलाडीले भाग लिएकोमा सहभागितामै सीमित बन्यो।
यसअघि नै प्रतिस्पर्धा गरिसकेकामध्ये सुटिङकी कल्पना परियार र पौडी खेलाडीद्वय एलेक्स शाह र गौरिका सिंहले राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए। जुडो खेलाडी सोनिया भट्ट भने पहिलो चरणमै १ मिनेट १६ सेकेन्डमै पराजित भइन्। चारै खेलाडी पहिलो चरणबाटै बाहिरिएका हुन्।
बुधबार पौडी खेलाडी गौरिका सिंह हिट चरणबाट बाहिरिएकी थिइन्।
यद्यपी गौरिकाले ५० मिटरको पौडी पोखरीमा (लङ कोर्स) मा राष्ट्रिय कीर्तिमान बनाउने क्रममा गौरिकाले १ मिनेट ००.११ सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन्।
टोकियो ओलम्पिकमा अर्का नेपाली पौडी खेलाडी एलेक्जान्डर ग्याडिगाड शाहले मंगलबार राष्ट्रिय कीर्तिमान बनाएका थिए।
सय मिटर फिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पौडिदै राष्ट्रिय कीर्तिमान बनाएका थिए। तर उनी दोस्रो चरणमा भने पुग्न सकेनन्।
जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भएकी थिइन्।
गत शनिबार महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो। जसमा इरिनाले इप्पोनको आधारमा सोनियालाई पहिलो राउन्डमै पराजित गरेकी थिइन्।
शनिबार नै नेपालकी अर्की खेलाडी कल्पना परियारले सुटिङको महिला १० मिटर एयर छनोट चरणमा प्रतिस्पर्धा गरेकी थिइन्।
उनले राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा छनोट हुन सकिनन्।
कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।