टोकियो ओलम्पिकमा कुवेतका सुटिङ खेलाडी अब्दुल्लाह अल रसिदीले सबैको ध्यान खिँचेका छन्।
सुटिङको स्कीट विधामा कास्य जितेसँगै उनी चर्चामा आएका हुन्। जारी ओलम्पिकमा उनी बढी उमेरमा पदक जितेर चर्चामा आएका हुन्। उनको उमेर ५७ वर्ष छ।
फाइनलमा ४६ अंक जोडेसँगै उनको पदक पक्का भएको थियो।
यो इभेन्टमा स्वर्ण अमेरिकाका भिसेन्ट हैनककले ५९ अंक जोडेर जिते। स्वर्णसँगै उनले ओलम्पिक रेकर्ड पनि बनाए। ५५ अंक जोडेका डेनमार्कका जेस्पर हैनसेनले रजत पदक हात पारे।
कुबेतका अब्दुल्लाह अल रसिदीले ओलम्पिकमा दोस्रो पदक जितेका हुन्।
उनले सन् २०१६ को रियो ओलम्पिकमा व्यक्तिगत रूपमा ओलम्पिकमा भाग लिएका थिए। किनभने त्यतिबेला अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले कुवेतलाई प्रतिबन्ध लगाएको थियो।
रियो ओलम्पिकमा पनि उनले कास्य पदक जितेका थिए। त्यतिबेला उनले फाइनलमा इंग्लिस फुटबल टिम आर्सनलको जर्सी लगाएर आउँदा विवाद भएको थियो।
अल रसिदीले रियोअघि पाँच पटक ओलम्पिक खेलका थिए। पाँचै पटक पदक जित्न असफल भए पनि उनले हरेस खाएनन्।
तर छैटौं पटक जब उनले पदक जिते, सो पदक देशको नाममा हुन सकेन। यसपटक ५७ वर्षको उमेरमा उनले आफ्नो देशका लागि पदक जित्ने धोको पूरा गरे।
जारी ओलम्पिकमा कुवेतले जितेको यो नै एक र पहिलो पदक हो।
ओलम्पिकमा बढी उमेरमा पदक जित्ने कीर्तिमान स्विडेनका सुटिङ खेलाडी ओस्कार स्वानको नाममा छ। उनले सन् १९२० को ओलम्पिकमा ७२ वर्षको उमेरमा रजत पदक जितेका थिए।