टोकियो ओलम्पिकअन्तर्गत नेपालका पौडी खेलाडी एलेक्जान्डर ग्याडिगाड शाहले आज प्रतिस्पर्धा गर्दैछन्।
उनले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। जसमा उनले पहिलो हिटमै प्रतिस्पर्धा गर्ने भएका छन्।
उनको हिटमा माल्दिभ्स, भुटान, कोसोभो, गुएना, प्यालेस्टाइन र सोलोमन आइल्यान्डका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरू हुनेछ।
हिटमा उत्कृष्ट प्रदर्शन गरे उनले अर्को चरणमा प्रतिस्पर्धा गर्नेछन्।
पौडीकी अर्की खेलाडी गौरिका सिंहले महिला १०० सय फ्रिस्टाइलमा भोलि प्रतिस्पर्धा गर्नेछिन्।
यसैगरी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला सय मिटर दौडमा ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन्। महिला सय मिटर दौडको पदकको टुंगो ३१ जुलाईमा लाग्नेछ।
यसअघि नेपालका दुई खेलाडीले टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए। जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भएकी थिइन्।
गत शनिबार महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो। जसमा इरिनाले इप्पोनको आधारमा सोनियलाई पहिलो राउन्डमै पराजित गरेकी थिइन्।
शनिबार नै नेपालकी अर्की खेलाडी कल्पना परियारले सुटिङको महिला १० मिटर एयर छनोट चरणमा प्रतिस्पर्धा गरेकी थिइन्।
उनले राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा छनोट हुन सकिनन्।
कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।