सन् २०३२ को ओलम्पिक गेम्स अस्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ।
अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) का अनुसार अस्ट्रेलियामा तेस्रो पटक ओलम्पिक हुने पक्का भएको हो।
यसअघि सन् १९५६ मा मेलवर्न र २००० मा सिड्नीमा ओलम्पिक आयोजना भएको थियो।
टोकियोमा बुधबार सन् २०३२ को ओलम्पिक आयोजक छान्न भएको भोटिङमा ब्रिसबेनको पक्षमा बढी मत आएको हो।
यो ओलम्पिकका लागि ५ बिलियन अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ।
त्यसअघि सन् २०२४ मा फ्रान्सको पेरिस र सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा ओलम्पिक आयोजना हुनेछ।
कोरोना भाइरसले प्रभावित सन् २०२० को टोकियो ओलम्पिक एक वर्ष ढिलो गरी पर्सी बिहीबारदेखि सुरु हुँदैछ।