दिनेश सुनारले गत साता पाँचौपटक गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाए।
पार्कर खेलाडी दिनेशले 'द मस्ट स्ट्यान्डिङ फुल ट्विस्ट ब्याक समरसल्ट इन थर्टी सेकेन्ड' मा नयाँ विश्व कीर्तिमान बनाएका हुन्।
उनले गत ७ मार्चमा अमेरिकाको ओहायोमा ३० सेकेन्डमा १२ पटक उल्टी हानेका थिए। सोही कीर्तिमानलाई गिनिज वर्ल्ड रेकर्ड्सले चार महिनापछि मान्यता दिएको हो।
गत वर्ष उनले ट्राम्पोलिन (उफ्रिन मिल्ने लचकदार रबरको सामग्री) मा 'ब्याक समरसल्ट' (उल्टी जम्प) हानेर चौथो कीर्तिमान राखेका थिए। दिनेशले आफ्नो तयारीमा ३६० पटकको लक्ष्य राखेका थिए। अमेरिका पुगेर अझै राम्रो गरे। एक घन्टामा ४६० पटक ट्राम्पोलिनमा ब्याक समरसल्ट गरेर यो विधाको रेकर्ड राख्न उनी सफल भए।
अमेरिका पुगेर दुई विश्व कीर्तिमान बनाउनुअघि उनले नेपालमा गिनिज वर्ल्ड रेकर्ड्समा तीनवटा विधामा आफ्नो नाम दर्ज गराएका थिए।
पहिलो, ‘मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स अफ द वाल इन वान मिनेट’। अर्थात्, एक मिनेटमा पर्खालका आडमा सबभन्दा धेरैपटक घुमाउरो तरिकामा उल्टोबाट उफ्रिने। यसमा उनी १८ पटक उफ्रेका थिए।
दोस्रो, ‘मस्ट ब्याकवर्ड समरसल्ट वाल इन थर्टी सेकेन्डस्’। अर्थात्, ३० सेकेन्डमा पर्खालका आडमा सबभन्दा धेरै उल्टी हान्ने। यसमा उनले १६ पटक समरसल्ट गरेका थिए।
तेस्रो रेकर्ड हो, ‘द मस्ट ब्याकफ्लिप ३६० वाल इन थर्टी सेकेन्डस्’। उनले ३० सेकेन्डमा १२ पटक पर्खालमा उल्टोबाट उफ्रिएका थिए।
खोटाङमा जन्मिएका दिनेश सानैमा काठमाडौं आएका थिए। उनी निकै उपद्रो गर्थे। जताततै दौडिन्थे। छिमेकीका सामान बिगारिदिन्थे। आमाबुवालाई छोराले हात-खुट्टा भाँच्छ कि भन्ने सधैं पिर हुन्थ्यो।
चन्चले दिनेशले २०६३ सालमा बालकुमारीमा आफ्नै उमेरका केटाहरूले हावामा शरीर बंगाएर उल्टी जम्प हानेको देखे।
त्यसपछि १०-१५ जनाको समूह बनाएर उनी पनि उल्टी-सुल्टी हान्ने प्रयास गर्न थाले। निकै प्रयासपछि उनी हावामा शरीर मर्काएर उल्टी हान्न सक्ने भए। दैनिकी यसैमा बित्न थाल्यो। जडिबुटी, इमाडोल र बालकुमारीमा बालुवा थुपारिएका ठाउँमा दिनेश उफ्रिरहेका हुन्थे। इमाडोलमा छिमेकीको बालुवामा उल्टी हान्दा गाली र कुटाइ पनि खाए।
आफ्नो प्रतिभा कुनै खेलसँग सम्बन्धित छ भन्ने राम्ररी थाहा नपाए पनि उनीभित्र पार्कर खेलाडी बन्ने रहर हुर्किसकेको थियो। गाली न कुटाइ, केहीले छेकेन। फिल्म हेरेर नयाँ-नयाँ तरिका सिक्न थाले।
यस्तै चल्दाचल्दै उनका बुवा वैदेशिक रोजगारीका लागि गए। दिनेश त्यो बेला आठ कक्षा पढ्थे। बुवा बिदेसिएपछि सहरको बालुवामा खेलेर हुर्किरहेका दिनेश खोटाङ फर्किए।
उनी गाउँका स्कुल-स्कुल गएर आफ्नो प्रतिभा देखाउन पनि थाले। प्रतिभा देखेपछि कतिले उनलाई 'हनुमान' त कसैले 'उड्ने मान्छे' भने।
एकदिन गाउँमै भलिबल प्रतियोगिता क्रममा उनले आफ्नो प्रतिभा देखाए। प्रतियोगिता हेर्न सशस्त्र प्रहरी बलका तत्कालीन महानिरीक्षक सनतकुमार बस्नेत पुगेका थिए। दिनेशको प्रतिभाबाट महानिरीक्षक बस्नेत प्रभावित भए। काठमाडौं आएर सशस्त्रमा भर्ना हुन निम्तो दिए।
महानिरीक्षक बस्नेत भलिबल प्रतियोगिता हेर्न खोटाङ पुग्नुलाई आफ्नो जीवनको टर्निङ प्वाइन्ट मान्छन् दिनेश।
काठमाडौं आएर सशस्त्रमा भर्ना भएपछि उनी जिमन्यास्टिक खेलाडी बने। खेलाडी बन्न चाहिने थप कौशल सिके। लुम्बिनी च्याम्पियनसिप, सातौं र आठौं राष्ट्रिय गरी तीनवटा राष्ट्रिय प्रतियोगितामा स्वर्ण जिते।
जिमन्यास्टिक खेल्दै गर्दा उनले सन् २०१२ मा पार्कर खेलबारे थाहा पाए।
आफू लागिपरेको कलाको ज्ञान भएपछि दिनेश झनै हौसिए। दिनरात यसमै रमाउन थाले। घरका छतछत कुद्न थाले। पाखा र सानातिना डाँडाबाट हाम फाले। पार्करबारे थाहा पाएपछि पनि उनलाई यसमा विश्व रेकर्ड बनाउन मिल्छ भन्ने जानकारी थिएन।
विश्व रेकर्डबारे थाहा पाएपछि त उनले आफ्नो लक्ष्य पनि तय गरे। आफ्नो कलालाई गिनिज वर्ल्ड रेकर्ड्समा दर्ज गराउने सपना देखे।
सपना पूरा गर्न विपनामा मिहिनेत जरूरी थियो। महिनौंसम्म उफ्रिए, हाम फाले, उल्टी-सुल्टी (समरसल्ट) हाने। तर उनलाई कसैले पत्याएनन्।
वर्षौं मिहिनेत गरेपछि दिनेशले पहिलो रेकर्ड बनाएर आफूलाई नपत्याउनेहरूलाई जवाफ दिए। त्यसपछि पनि उनी रोकिएनन्, रेकर्ड बनाए।