सर्वियन टेनिस स्टार नोभाक जोकोभिकले आइतबार करिअरको २०औं ग्रान्डस्लामको उपाधि जिते।
आइतबार भएको विम्बल्डन टेनिसको उपाधि भिडन्तमा ३४ वर्षीय जोकोभिकले इटालीका माटेओ बेरेटिनीलाई पराजित गर्दै करिअरको २०औं ग्रान्डस्लाम उपाधि जितेका हुन्।
यससँगै जोकोभिकले स्विट्जरल्यान्डका रोजर फेडेरर र स्पेनका राफायल नाडालको कीर्तिमान बराबरी गरे। फेडेरर र नाडालको नाममा पुरुषतर्फ सर्वाधिक ग्रान्डस्लामको उपाधि जित्ने कीर्तिमान छ।
फेडेरर र नाडाल दुवैले करिअरमा २०-२० ग्रान्डस्लामको उपाधि जितेका छन्। यो वर्ष जोकोभिकले अस्ट्रेलियन र फ्रेञ्च ओपनको उपाधि पनि जितेका थिए।
सर्वाधिक ग्रान्डस्लामको उपाधि जित्ने कीर्तिमान अस्ट्रेलियाका मार्गरेट कोर्टको नाममा छ। उनले २४ ग्रान्डस्लामको उपाधि जितेकी थिइन्।
यस्तै अमेरिकाकी सेरेना विलियम्सले २३ र जर्मनीकी स्टेफी ग्राफले २२ ग्रान्डस्लामको उपाधि जितेका छन्।
जोकोभिकले सन् २००८ मा पहिलो ग्रान्डस्लाम जित्ने क्रममा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए। दोस्रो उपाधि जित्न जोकोभिकले तीन वर्ष कुर्नु पर्यो।
जोकोभिकले अस्ट्रेलियन ओपन २००८, २०११,२०१२, २०१३, २०१५, २०१६, २०१९, २०२० र २०२१ गरी नौ पटक जितेका छन्।
यस्तै उनले २०१६ र २०२१ मा फ्रेञ्च ओपनको उपाधि जितेका थिए।
जोकोभिकले सन् २०११, २०१४, २०१५, २०१८, २०१९ र २०२१ गरी ६ पटक विम्बल्डन उपाधि हात पारेका छन्।
युएस ओपन तीन पटक जित्ने क्रममा उनी २०११, २०१५ र २०१८ मा च्याम्पियन बनेका थिए।