टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्नका लागि नेपाली पौडी खेलाडी एलेक्स गाडेगार्ड शाह सोमबार जापान प्रस्थान गर्दैछन्। उनीसँगै प्रशिक्षक शंकर कार्की पनि जापान जाँदैछन्।
जापान पुगेर उनले टोकुशिमामा अभ्यास गर्नेछिन्।
टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने नेपालकी अर्की पौडी खेलाडी गौरिका सिंह इंग्ल्यान्डबाटै जापान जानेछिन्।
इंग्ल्यान्ड बस्दै आएकी गौरिकाले उतै ओलम्पिकको तयारी गरेकी थिइन्।
टोकुशिमामा दुई साता अभ्यास गरेपछि नेपाली पौडी खेलाडीहरू २० जुलाईमा ओलम्पिक भिलेजमा पुग्नेछन्।
दुवै खेलाडीले टोकियो ओलम्पिकमा १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन्।
१३औं सागमा पदकविहीन भए पनि एलेक्सले नेपाली पौडी टिमको पुरुषतर्फ उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए। जसका कारण उनी ओलम्पिकको वाइल्ड कार्डका लागि सिफारिस भएका थिए।
गौरिकाले १३औं सागमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक गरी नौ पदक जितेकी थिइन्। उनले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबरी गरिकी थिइन्। यस्तै गौरिकाले आठौं राष्ट्रिय खेलकुदमा सहभागी सबै स्पर्धा अर्थात् १२ स्वर्ण जित्न सफल भएकी थिइन्।
एलेक्स र गौरिकासँगै टोकियो ओलम्पिकमा नेपालको तर्फबाट एथलेटिक्सको सय मिटर दौडमा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार र जुडोबाट सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछन्।
टोकियो ओलम्पिक यहि २३ जुलाई देखि ८ अगस्टसम्म हुँदैछ।