झापा कारागारमा रहेका बन्दीलाई शुक्रबार शिवसताक्षी नगर खेलकुद विकास समितिले खेल सामग्री प्रदान गरेको छ।
कारागार प्रशासन परिसरमा पुगेर त्यहाँ रहेका शिवसताक्षी नगरका बन्दीका लागि खेलकुद विकास समितिले खेल सामग्री प्रदान गरेको शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फूर्वा तामाङले बताए।
खेलको माध्यमबाट उनीहरूको मानसिक पीडा कम गराउने उद्देश्यले सामग्री प्रदान गरिएको उनले बताएका छन्।
विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका शिवसताक्षी नगरका बन्दीलाई क्याराम बोर्ड, चेस, भलिबल, फुटबल, लुँडो लगायतका खेल सामग्री प्रदान गरिएको नगर खेलकुद विकास समितिका उपाध्यक्ष सन्तोष पौडेलले जानकारी दिए।
शिवसताक्षी नगरबाट विभिन्न कसुरमा ३५ जनाले झापा कारागारमा जेल जीवन बिताइरहेका छन्।
‘स्वास्थ्यका लागि खेल, अनुशासनका लागि पनि खेल र विभिन्न प्रकृतिका तनाव भुलाउन पनि खेल मानवजीवनमा अपरिहार्य रहेकाले बन्दीलाई खेल सामग्री प्रदान गरिएको हो,’ खेलकुद विकास समितिका अध्यक्ष तामाङले भने, ‘खेलकुदको माध्यमबाट युवायुवतीलाई सामाजिक रूपान्तरणको अभियानमा अग्रसर गराउन शिवसताक्षी नगरको विकास समिति लागिपरेको छ। यो अभियानमा सिंगो शिवसताक्षी नगरपालिका लागिपरेको छ।’
शिवसताक्षी नगरबाट झापा कारागारमा जेल जीवन बिताइरहेका ३५ मध्ये अधिकांश लागुऔषधको अवैध कारोबारमा संलग्न रहेको आरोपमा कैद भुक्तान गरिरहेको झापा कारागारका जेलर राजेन्द्रकुमार गौतमले बताए। उनले भने, ‘खेल सामग्री पाएपछि शारीरिक तन्दुरुस्तीसहित मानसिक पीडा भुल्न बन्दीहरूलाई मद्दत पुग्ने छ।’
खेल सामग्री ग्रहण गरेलगत्तै जेलर गौतमले कारागारभित्रका नाइकेलाई ती सामग्री प्रदान गरेका थिए।
शिवसताक्षी नगरपालिकाको खेलकुद विकास समिति को प्रशंसा गर्दै जेलर गौतमले भने, ‘तपाईंहरूको यो अभियान अनुकरणीय र प्रशंसायोग्य छ। खेलकुद को माध्यमबाट समाजका हरेक नागरिकको सकारात्मक जीवनस्तरमा परिवर्तन अवश्य ल्याउन सक्नेछ।’
कार्यक्रममा राष्ट्रिय युवा परिषद् शिवसताक्षी नगर कार्यकारी उपाध्यक्ष निशा लिम्बु लगायत खेल प्रेमी र शिवसताक्षी नगर खेलकुद विकास समितिका अधिकांश पदाधिकारीको सहभागिता थियो।
कार्यक्रमको सहजीकरण खेलकुद विकास समितिका सचिव दीपक भेटवालले गरेका थिए। खेल सामग्री खेलकुद विकास समितिले प्रदान गरे पनि यो कार्यक्रम नगरप्रमुख चन्द्रकुमार शेर्माको सिफारिसमा भएको थियो।
‘कैदीहरू आफूले गरेको अपराधका कारण जेलमा बसेर मानवीय व्यवहारका लागि पश्चाताप गरिरहेका हुन्छन्, उनीहरूप्रति समाजको घृणा रहन्छ,’ शेर्माले भने, ‘हामीले उनीहरूलाई जेल जीवन भोगेर बाहिर आउँदा स्वतन्त्र नागरिकको रूपमा सम्मान गर्नुपर्छ। जेलमा रहँदा उनीहरूको मानसिक, शारीरिक भावनालाई पनि ख्याल गर्नु हाम्रो कर्तव्य हुन जान्छ। उनीहरूलाई असल नागरिक बनाउनु हाम्रो दायित्व हो।’