नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाईल्ड कार्ड प्राप्त गरेकी छिन्। यसका साथै अहिलेसम्म टोकियो ओलम्पिकमा सहभागी हुने खेल ५ पुगेको छ।
पौडी, एथलेटिक्स, सुटिङ्ग, तेक्वान्दो र जुडोले ओलम्पिकमा सहभागिता जनाउने भएको हो। पौडी र एथलेटिक्स अनिवार्य सहभागि हुने भएता पनि सुटिङ्ग, तेक्वान्दो (पारा) र जुडोले वाईल्ड कार्ड मार्फत सहभागिता जनाउने भएको हो।
सोनियाले ४८ केजी मुनिको प्रतिस्पर्धामा सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटिका सचिव एवं नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी गराए । उनले दुई खेलाडी ईन्द्रबहादुर श्रेष्ठ र सोनियाको लागि पहल गरिएकोमा सोनियाले वाईल्ड कार्ड प्राप्त गरेको बताए।
नेपाल पुलिसमा आवद्ध सोनिया हालै नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदकी कास्य पदक विजेता खेलाडी हुन्।
सोनियाले २०१९मा बंगलादेशमा आयोजना भएको जुडो च्याम्पियनसिपमा क्याडेट तर्फ ४४ केजीमा स्वर्ण पदक प्राप्त गरेकी थिईन्।
२०१९ मा मोरोक्कोमा आयोजना भएको बिश्व जुनियर च्याम्पियनसिपमा एक बाउट जित निकाल्दै २०० अंक बटुल्न सफल भएका कारण त्यसैलाई र अन्य प्रतिस्पर्धामा उनले देखाएको प्रदर्शनलाई आधार मानेर वाईल्ड कार्ड प्राप्त गर्न सफल भएको अध्यक्ष बज्राचार्यले जानकारी गराए।
सोनिया ओलम्पिकमा सहभागिता जनाउने जुडोकी पाँचौ खेलाडी भएकी छिन्। यस अघि जुडोबाट १९८८ सिओल ओलम्पिकमा रिषीराम प्रधान र गंगाबहादुर डङ्गोलले सहभागिता जनाएका थिए। यस्तै चाईनाको बेईजिङ्ग ओलम्पिकमा देवु थापा र रियो ओलम्पिकमा फुपुल्हामु खत्रीले सहभागिता जनाएका थिए।