विश्व नम्बर दुई टेनिस खेलाडी नाओमी ओसाकाले फ्रेञ्च ओपनबाट नाम फिर्ता लिएकी छिन्।
प्रतियोगिताका दौरान मिडियासँग बोल्न अस्विकार गरेपछि विवादमा परेकी उनले सोमबार नाम फिर्ता लिएकी हुन्।
चार पटककी ग्रान्डस्लाम च्याम्पियन ओसाकाले लामो समय डिप्रेसनको सामना गर्नु परेको भन्दै नाम फिर्ता लिएको बताएकी छिन्।
सन् २०१८ मा पहिलो ग्रान्डस्लाम जितेदेखि आफू डिप्रेसनमा परेको उनले बताएकी छिन्।
२३ वर्षीया ओसाकाले गत साता आफ्नो मानसिक स्वास्थ्यका कारण फ्रेञ्च ओपनका दौरान हुने अन्तर्वार्तामा भाग नलिने बताएकी थिइन्।
'म आफ्नो ध्यान कहिले पनि भंग गर्न चाहान्न,' उनले भनेकी थिइन्।
आइतबार ओसाकाले फ्रेञ्च ओपानको पहिलो चरणको खेल जितेकी थिइन्। उनले पहिलो चरणमा रोमानियाकी मिरिया टिगलाई पराजित गर्दै दोस्रो चरणमा पुगेकी थिइन्।
त्यसपछि उनले पोस्ट म्याच पत्रकार सम्मेलनमा बोलेकी थिइनन्। जसका कारण उनलाई १५ हजार अमेरिकी डलर जरिमाना गरिएको थियो।