भारतका ओलम्पिक पदक विजेता सुशील कुमार अहिले प्रहरी हिरासतमा छन्। कुस्ती खेलाडी सुशील कुमारमाथि दिल्लीको छत्रसाल रंगशालामा २३ वर्षीय एक कुस्ती खेलाडीको हत्या गरेको आरोप छ।
२१ मेमा पक्राउ परेका सुशील कुमारमाथि अनुसन्धन गर्नका लागि गत शुक्रबार थप चार दिन हिरासतमा राख्न दिल्लीको एक अदालतले प्रहरीलाई अनुमति दिएको थियो। त्यसअघि अदातलले छ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
सुशील कुमारमाथि २३ वर्षीय जुनियर राष्ट्रिय कुस्ती च्याम्पियन सागर राणामाथि कुटपिट गरेको अभियोग छ। कुटपटिबाट घाइते भएका सागरको पछि निधन भएको थियो।
घटना गत मे ४ मा भएको थियो। दिल्लीको छत्रसाल रंगशाला परिसरमा सुशील कुमार र अन्य कुस्ती खेलाडीको कुटपिटबाट सागरसहित अन्य दुई खेलाडी घाइते भएका थिए। एक दिनपछि सागरको मृत्यु भएको थियो।
सागरको मृत्यु भएपछि सुशील कुमार फरार भएका थिए। त्यसपछि दिल्ली प्रहरीलाई उनको नाममा पक्राउ पुर्जी जारी गरेको थियो।
सागरको मृत्यु भएपछि सुशील कुमार आफ्नो घर हरिद्वार गएको खुलेको थियो। पछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
घटनामा घाइते भएका खेलाडीले सुशील कुमार घटना भएको बेला रंगशालामा भएको आरोप लगाएका छन्। सुशील कुमार र उनका साथीहरूले सागर राणालाई घरबाट रंगशालासम्म ल्याएको घाइते खेलाडीले बताएका छन्। रंगशालामा ल्याएपछि सबै खेलाडीका अगाडी सागरलाई कुटिएको थियो।
हत्या अनुसन्धानमा उनले असहयोग गरिरहेको प्रहरीको भनाइ छ। उनले घटनाको दिन प्रयोग आफ्नो मोबाइल अहिलेसम्म प्रहरीलाई दिएका छैनन्।
आगामी टोकियो ओलम्पिकमा भारतका आठ कुस्ती खेलाडीले प्रतिस्पर्धा गर्ने मौका पाउँदैछन्। ओलम्पिकमा भारतले कुस्तीमा लागि पाएको यो सबैभन्दा बढी कोटा हो।
सुशील कुमार भारतको पहिलो श्रेणीका कुस्ती खेलाडी हुन्। उनीसहित चार खेलाडीले वार्षिक ३० लाख भारू पाउने गर्छन्। विभिन्न कम्पनीको प्रायोजनमार्फत उनले थप १ करोड भारू आम्दानी गर्छन्।
सुशील कुमार सन् २०१९ को विश्व च्याम्पियनसिपदेखि कुनै पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएका छैनन्। त्यतिबेला उनी पहिलो राउन्डमै पराजित भएका थिए।
उनले भारतका लागि दुई वटा ओलम्पिक मेडल जितेका छन्। सन् २००८ को बेइजिङ ओलम्पिकमा उनले ६६ केजी फ्रिस्टायलमा कास्य पदक जितेका थिए।
सन् २०१२ को लन्डन ओलम्पिकमा उनले रजत पदक जिते। फाइनलमा जापानका खेलाडीसँग पराजित हुँदा उनले स्वर्ण जित्ने अवसर गुमाएका थिए।
सन् २०१० मा मस्कोमा भएको विश्व च्याम्पियनसिपमा उनले स्वर्ण जितेका थिए।