सरकारले झापाको दमकमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने बताएको छ।
अध्यादेशमार्फत् आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले दमकमा मदन भण्डारी रंगशाला दुई वर्षभित्र सञ्चालन ल्याउने गरी निर्माण प्रारम्भ गरिने बताएका हुन्।
यस्तै मोरङको बैजनाथपुर, काठमाडौंको मुलपानी, रुपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपालगञ्ज र कन्चनपुरको महेन्द्रनगरमा क्रिकेट मैदान सम्पन्न गर्न आवश्यक बजेट बिनियोजन गरिएको छ।
आगामी वर्ष पोखरा रंगशाला निर्माण सम्पन्न गरिने बजेटमार्फत अर्थमन्त्री पौडेलले बताए।
सक्रिय खेल जीवनबाट संन्यास लिएका खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियत दरमा कर्जा उपलब्ध गराइनेछ बजेटमा उल्लेख छ।
यस्तै धनगढी, विरेन्द्रनगर, नेपालगञ्ज, विरगन्ज, जनकपुरधाम र इटहरीमा प्रादेशीक रंगशाला निर्माण कार्य अघि बढाइने भएको छ।
सबै स्थानीय तहमा खेल पूर्वाधार निर्माण गरिने सरकारको भनाइ छ। जसमा आगामी आर्थिक वर्ष १६८ स्थानीय तहमा खेलग्राम निर्माण गर्न रकम छुट्याइएको छ।
सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा हाइ अल्टिच्युट स्पोर्ट्स सेन्टर निर्माण गर्न आवश्यक बजेट छुट्याइएको छ।
आगामी आर्थिक वर्ष नवौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न सरकारले बजेट छुट्याएको छ।
युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ छुट्याइएको छ। खेलकुदका लागि यो गत आर्थिक वर्षको भन्दा बढी बजेट हो।