नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले कलाकार सीताराम कट्टेल (धुर्मुस) अध्यक्ष रहेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई शुक्रबार १ लाख रुपैयाँ सहयोग गरेको छ।
फाउन्डेसनको पहलमा जनस्तरबाट चितवनको भरतपुर नगरपालिकास्थित रामपुरमा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राखिने कुर्सी मध्ये १ कुर्सी खरिद गर्दै रंगशाला निर्माणमा सहयोग गर्ने उद्देश्यले एनएनआईपीएले १ लाख रुपैयाँ उपलब्ध गराएको हो।
फाउन्डेसनले रंगशाला निर्माणमा सहयोग जुटाउने उद्देश्यले केहि समयअघि रंगशालामा राखिने कुर्सी मध्ये १ कुर्सीका लागि सहयोगकर्ताको नाम राख्ने गरी सो अभियान चलाएको थियो।
एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले १०१ नम्बरको कुर्सी उपलब्ध गराइ दिन आग्रह गर्दै अध्यक्ष कट्टेललाई १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे।
एनएनआईपीएले गत फागुन ८ गते आयोजना गरेको अवार्ड कार्यक्रमबाट बचेको रकमबाट उक्त सहयोग फाउन्डेसनलाई उपलब्ध गराएको हो। एनएनआईपीएले यअसघि पनि फाउन्डेसनलाई सेन्टी भाइरसको प्रिमियर सोबाट वचत भएको रकमबाट ६० हजार रुपैयाँ उपलब्ध गराएको थियो।
अध्यक्ष श्रेष्ठले कुर्सी खरिद गर्ने भन्दा पनि भावनात्मक रुपमा अभियानसंग जोडिन सहयोग गरेको बताउँदै सम्पूर्ण खेल संघका साथै सबैलाई गच्छे अनुसार अभियानलाई सफल बनाउन सहयोग गर्न आग्रह गरे।
एनएनआईपीएका मानार्थ अध्यक्ष दीपक विष्टले सीमित श्रोत र साधनका बावजुद खेलाडी संघले फाउन्डेनको पुण्य कार्यमा सहयोग गरेकोमा खुशी व्यक्त गरे।
अध्यक्ष कट्टेलले खेलाडीको वृत्ति विकास र सरकारलाई सहयोग गर्न रंगशाला निर्माणको कार्य थालनी गरेको बताउदै क्रिकेट रंगशाला भएपनि रंगशाला हातामा विभिन्न मुख्य २२ खेल विधाका संरचना पनि निर्माण गर्ने योजना रहेको बताए।
उनले सबैको साथ र सहयोगले मात्र निर्माण कार्यले पूर्णता पाउने बताउँदै हरेक खेलाडीले मेरा, हाम्रो रंगशाला हो भन्ने महशुश गरी सम्पूर्ण खेलाडीलाई यो अभियानमा जोडिन अनुरोध गरे। उनले हरेश नखाइ र निराश नभइ विषम परिस्थतिमा पनि निर्माण कार्यलाई अगाडि बढाएको बताउँदै सहयोगका लागि एनएनआईपीएलाई धन्यवाद दिए।