नेकपा एमाले समर्थित नेपाल खेलकुद महासंघमा अध्यक्ष केपी ओली समूहले समानान्तर समिति गठन गरेको छ।
रमेश पौडेलको अध्यक्षतामा ५ सय ५१ सदस्यीय केन्द्रीय कार्यसमिति मंगलबार गठन गरिएको हो। महासचिवमा मेघराज पौडेललाई जिम्मेवारी दिइएको छ।
भृकुटिमण्डपस्थित राष्ट्रिय सभा गृहमा भएको राष्ट्रिय कार्यकर्ता भेलाले कार्यसमिति गठन गरेको हो।
खेलकुद महासंघमा माधव नेपाल पक्ष हाबी थियो। महासंघमा पूर्वमन्त्री पुरुषोत्तम पौडेल अध्यक्ष छन्। खेलकुद महासंघ गठन भएदेखि समितिमा माधव नेपाल पक्षको बर्चश्व थियो।
खेलकुद महासंघमा माधव नेपाल पक्षको बर्चश्व भएपछि ओली पक्षका कार्यकर्ताले मदन भण्डारी स्पोर्ट्स फाउन्डेसन गठन गरेका थिए।
अहिले एमाले भित्रको कलह बढेपछि ओली पक्षले खेलकुद महासंघमा समानन्तर समिति गठन गरेको हो।
ओली पक्षको समितिको कार्यकर्त भेलामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तेज गुरुङ, राखेप कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेप सदस्यहरु रिम रानाभाट, सुभाष श्रेष्ठ, सम्पन्न श्रेष्ठ, सुवर्णा श्रेष्ठ, मान्देव हजार, पुरेन्द्रविक्रम लाखे, रेणुका श्रेष्ठ, इन्दिरा निरौलालगायतको उपस्थिति रहेको थियो।
यसअघि सिलवालले ओली निकट भएका कारण राखेप सदस्यसचिवमा नियुक्ति पाएका थिए।