निमा घर्ती मगर, विजयी सिन्जाली, मंगलप्रसाद थारु र जुनी राई उसु अवार्डअन्तर्गत सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीद्वारा आयोजित अवार्डको थाउलोतर्फ महिलामा निमा र पुरुषमा विजयी सिन्जाली सर्वोत्कृष्ट चुनिएका हुन्। सान्सौंको पुरुषमा मंगल र महिलामा जुनी सर्वोत्कृष्ट चुनिए।
भक्तपुरको सूर्यविनायकस्थित यो यो बैंक्युटमा भएको कार्यक्रममा दीपक हमालले उदीयमान खेलाडीको अवार्ड जिते।
सुस्मिता तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ ठहरिन्। आठौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रदर्शनलाई मध्यनजर गरी खेलाडी छनोट गरिएको आयोजकले जनाएको छ।
अवार्ड विजेता सबै खेलाडी आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता हुन्। छ जनै खेलाडी १३ औं सागमा पनि पदक जितेका थिए। मंगल बाहेक सबै खेलाडीले १३ औं सागमा स्वर्ण जितेका थिए। मंगलले भने रजत हात पारेका थिए।
विजेताले जनही नगद ५ हजार र गिफ्ट ह्याम्पर प्राप्त गरे।
अवार्ड कार्यक्रमका अवसरमा १३ औं सागका प्रशिक्षक तथा लामो समयदेखि उसु प्रशिक्षणमा संलग्न प्रशिक्षकलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो।