नेपालमा पहिलो पटक विद्यालय स्तरमै गल्फ खेलाउन सुरु गरिएको छ।
राजर्षि गुरुकूल सल्लाघारी, भक्तपुरमा विद्यालयस्तरीय गल्फ खेलको सुरु गरिएको हो। विद्यालयले यसअघि पौडी, हकी, क्रिकेट, फुटबल, बास्केटबल, स्केटिङ लगायतका खेलकुद क्रियाकलापहरु गर्दै आएकोमा यस वर्षदेखि गल्फ खेलको पनि सुरु गरेको हो।
पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठलले गल्फ खेलको प्रारम्भ गर्दै विद्यालयले गरेको यो खेलको सुरुवातले विद्यार्थीहरूमा अन्तरनिहित रहेको प्रतिभालाई प्रस्फुटन गर्न र विद्यार्थीहरुको शारीरिक, मानसिक, बौद्धिक र संवेगात्मक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउँदै विद्यालय परिवारलाई बधाइ तथा धन्यवाद दिए।
गल्फर समेत रहेका उनले गल्फ खेल धनी र बुढापाकाहरुको खेल हो भन्ने परम्परागत धारणाबाट माथि उठेर युवाहरुलाई यस खेलतर्फ आकर्षित गर्न सके खेलको विकासमा ठूलो योगदान पुग्ने बताए।
विद्यालयका अध्यक्ष राजेश चौधरीले विद्यालयले विद्यार्थीहरुको चौतर्फी विकासको लागि निरन्तर प्रयास गरिरहेको र यस कार्यमा सबै पक्षबाट यथोचित सहयोग र सद्भाव कायम रहेको जानकारी दिए।
प्रचार्य लियोन श्रेष्ठले यस खेलबाट धेरै विद्यार्थीहरुले लाभ लिन सक्ने विश्वास व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे।