नुवाकोटे टाइगरले दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जितेका छन्। उनले प्रतिस्पर्धी डेविडलाई पछि पार्दै उपाधि रक्षा गरेका हुन्।
पोखरा रंगशालाको बहुउद्देश्य कभर्डहलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा डेविडले टाइगरमाथि धेरै पटक शसक्त प्रहार गरे पनि अन्तिममा टाइगर सफल भए।
उपाधिका साथ टाइगरले नगद एक लाख र च्याम्पियन बेल्ट पनि प्राप्त गरे। प्रतियोगितामा उपविजेता बनेका डेभिडले नगद ५० हजार रुपैयाँ पाए। प्रतियोगितामा चट्टानले तेस्रो स्थानमा चित्त बुझाए।
शुक्रबार रद्द भएको ठगु र द युगबीच च्यालेन्ज खेल पुनः भएको थियो। हिजोको भएको खेलमा ठगुका साथीले आएर रेफ्रीलाई पछारेपछि खेल रद्द भएको थियो।
नेपाल रिङ रेस्लिङ संघको आयोजनामा संचालन भएको २ दिने रिङ रेस्लिङ प्रतियोगिताका विजेता खेलाडीलाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले पुरस्कृत गरेका थिए।