दुबई पारा ब्याडमिन्टन संघको आयोजनमा चैत १४ गतेदेखि २३ गतेसम्म दुवईको सहवाव अल अलि दुवई क्लबमा हुने तेश्रो फज्जा दुबई पारा ब्याडमिन्टन इन्टरनेशनल २०२१ मा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ।
प्रतियोगितामा नेपाली खेलाडी प्रकाश अधिकारी सहभागी हुनेछन्। पारा ब्याडमिन्टनमा नेपालको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो।
ब्याडमिन्टन संघको पहलमा नेपालमा पारा ब्याडमिन्टन प्रतियोगिताहरु आयोजना नभईरहेको अवस्थामा पारा खेलाडी प्रकाश अधिकारी नेपालमा आयोजना हुने विभिन्न प्रतियोगितामा सहभागिता जनाउने खेलाडी हुन्।
खेलाडीलाई बिदाई गर्ने क्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले शुभकामना प्रदान गर्दै खेलाडीहरु अबका दिनमा ब्यावसायिकता तर्फ अग्रसर हुनु पर्ने र त्यसका लागि आफुलाई सक्षम बनाउनु पर्ने बताए।
उनले खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा समावेश हुने भएकोले त्यसलाई यथार्थमा उतार्नु पर्ने बताए।
नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले नेपालले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको भन्दै यसका लागि नेपाल ब्याडमिन्टन संघ, राखेपका सदस्य एवं संघका उपाध्यक्ष सुभाष श्रेष्ठको बिशेष पहल रहेको बताए।
दक्षिण एशियाली पारा ब्याडमिन्टन संघका अध्यक्ष समेत रहेका उनले नेपाली खेलाडीले विभिन्न विधा मध्ये अहिले एसएल ४ को बिधामा नाम दर्ता गरिएता पनि प्रतियोगिताका दौरान खेलाडीको परिक्षण पश्चात कुन बिधामा सहभागिता जनाउन पाउने भन्ने निर्क्यौल गर्ने बताए।
अध्यक्ष श्रेष्ठले खेलाडीलाई अनुशासित भई प्रतियोगिता खेल्न सुझाव प्रदान गदै पहिलो पटक सहभागिता भएकोले अहिले देखाएको कौशलता र अनुशासनले भोलीका दिनमा अरु खेलाडीहरुका लागि समेत बाटो खुल्ने बताए।