दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने भएको छ।
गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको तयारी गरिरहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कर्णाली प्रदेशमा दशौं खेलकुद प्रतियोगिता गर्ने तयारी थालेको हो। हरेक दुई वर्षको फरकमा हुने प्रतियोगिताको नवौं संस्करण २०७७ फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ।
२०७९ कात्तिकभित्र कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको परिषद्का सदस्य–सचिव रमेश सिलवालले जानकारी दिए।
परिषद्ले एक महिनादेखि कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्भाव्यता अध्ययनका लागि प्राविधिक खटाएको छ। अहिलेसम्म कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न सकिने संरचना भने छैन। यसले गर्दा प्रतियोगिता सञ्चालनका लागि चुनौति छ।
यसका लागि आवश्यक संरचना निर्माणको तयारी पनि थालिएको सदस्य–सचिव सिलवालले बताए। ‘सामान्यतया एउटा प्रतियोगिता सम्पन्न भएपछि अर्को प्रतियोगिताको मिति तोकेर तयारीमा जुट्थ्यौं,’ सिलवालले भने, ‘कर्णालीमा शून्य संरचना भएकाले यहाँ अहिले देखिनै तयारीमा जुटेका छौं।’
परिषद्ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पर्ने संरचनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि तयार पारेको छ। डिपिआरमा प्रतियोगिताका लागि आवश्यक पर्ने खेलकुदका संरचना निर्माण गर्न पाँच अर्ब रुपैयाँ लाग्ने उल्लेख छ।
‘कर्णालीमा अहिलेसम्म खेलकुद गतिविधि सञ्चालन गर्नका लागि एउटै पनि स्थायी संरचना छैन, शून्यबाट संरचना निर्माणको काम गर्नुपर्ने भएकाले प्रतियोगिताको मिति घोषणा नहुँदै काम सुरु गरेका हौं’ सदस्य–सचिव सिलवालले भने।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न कर्णाली प्रदेश सरकार र प्रदेशभित्रका स्थानीय तहहरु सकारात्मक रहेको सिलवालले बताए। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि केही समय अघि सुर्खेत आएका सदस्य–सचिव सिलवालले मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलगायतलाई भेटेका थिए। भेटका क्रममा मुख्यमन्त्री शाहीले खेलकुदका संरचना निर्माणका लागि प्रदेश सरकारले सघाउने प्रतिवद्धता जनाएको उनले बताए।
प्रतियोगिताका लागि सुर्खेतमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरिने छ। यसका लागि दुई अर्ब रुपैयाँ लाग्नेछ। सुर्खेतमा निर्माण हुने रंगशाला १० हजार दर्शक अट्न सक्ने क्षमताको हुनेछ। योसँगै अन्तर्राष्ट्रिय पौडी संघको मापदण्ड अनुसारको पौडी पोखरी र कवर्ड हल पनि निर्माण गरिने सिलवालले जानकारी दिए।
तीन तहकै सरकारसँग सहकार्य गरेर बजेटको व्यवस्था गरिने उनले बताए। प्रदेश र स्थानीय तहले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको र अपुग रकम परिषद्ले व्यवस्था गर्ने सदस्य–सचिव सिलवाले बताए।