नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सवा ५ अर्ब बढी रकम लाग्ने बजेट निर्माण कार्यदलले जनाएको छ।
कार्यदलले आइतबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई आफ्नो प्रतिवेदन बुझाएको हो। प्रतिवेदन अनुसार सागका लागि विभिन्न १७ शीर्षकमा ५ अर्ब २६ करोड ५७ लाख लाग्ने छ।
आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुने साग खेलमा सार्कका खेलाडीबीच २७ खेलमा प्रतिस्पर्धा हुँदैछ।
सागको तयारी तथा व्यवस्थापन समितिले वैशाख २६ गते राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा बजेट निर्माण कार्यदल गठन गरेको थियो।
सो कार्यदलले एक महिना लामो अध्ययन र सुझावपछि अनुमानित बजेट तयार पारेको हो।
कार्यदलका संयोजक तिम्सिनाले साग खेलकुद नेपालको प्रतिष्ठासँग जोडिएको हुनाले सागलाई भव्य रुपमा आयोजना गर्न केही शीर्षकमा बजेट बढी लाग्ने बताए।
‘हामीले इभेन्ट व्यवस्थापन र राष्ट्रिय टिम तयारीका लागि सोचेभन्दा बढी बजेट लाग्ने अनुमान गरेका छौं,’ तिम्सिनाले भने।
अनुमानित बजेटबारे खेलकुद मन्त्रालयले अध्ययन गर्नेछ। अध्ययनपछि अर्थ मन्त्रालयमा स्विकृतिका लागि पठाइनेछ।
खेलकुद मन्त्री सुनारले प्रतिवेदनकै आधारमा बजेट निर्माण हुने बताए।
‘सागका लागि विभिन्न १५ वटा समिति निर्माणको क्रममा छन्। समितिको सुझाव र बजेट कार्यदलको प्रतिवेदनको आधारमा सागका लागि अन्तिम बजेट तयार हुनेछ,’ उनले भने।
सागको अनुमानित बजेट-
राष्ट्रिय टिम तयारी समिति - ८८ करोड १२ लाख
खेलस्थल व्यवस्थपन समिति – ३ करोड ११ लाख
प्राविधिक समिति – ३० करोड ४० लाख
स्रोत साधन परिचालन समिति – २० लाख
सुरक्षा समिति – ५० करोड २६ लाख
आवास व्यवस्थापन समिति – ४५ करोड ५२ लाख
यातायत व्यवस्था समिति – १५ करोड ७१ लाख
स्वास्थ्य समिति – ३ करोड ४३ लाख
प्रचार प्रसार तथा प्रकाशन समिति – ८ करोड ९५ लाख
समारोह व्यवस्थापन समिति – ७१ करोड ७६ लाख
स्वयंसेवश परिचलन समिति- २ करोड २ लाख
अतिथि सत्कार समिति – १ करोड २९ लाख
खेल सामग्री,उपकरण तथा पोशाक व्यवस्थापन समिति – १ अर्ब २९ करोड ९१ लाख
एन्टी डोपिङ समिति – ३ करोड ५४ लाख
आयोजक समिति सचिवालय- २७ करोड ९९ लाख
आइटी व्यवस्थापन – १९ करोड ६० लाख
विविध – २५ करोड
कुल – ५ अर्ब २६ करोड ५७ लाख ४२ हजार ६ सय ७०