बार्सिलोना छोडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) मा अनुबन्धित हुन लागेका ब्राजिलियन स्टार नेइमारसँग छुट्टीए पछि अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसी भावुक बन्न पुगेका छन्।
मेडिकल चेकअपका लागि बुधबार पोर्चुगलको पोर्टोतर्फ उड्नुअघि बिहान नेइमार बार्सिलोनाको ट्रेनिङ भइरहेको ठाउँ पुगेका थिए। जहाँ उनले ४० मिनेट आफ्ना पूर्व सहपाठीसँग बिताए।
बिदाई कार्यक्रममा कुनै औपचारिक भाषण भएको थिएन्। नेइमारले एक–एक गर्दै सबै सहपाठीसँग अकंमाल गरेका थिए।
उनी आफ्नो नीजि विमानबाट पोर्टोतर्फ उडेपछि साँझ मेसीले इन्स्टाग्राममा एउटा सन्देश पोस्ट गरे, ‘तिमीसँग बिताएका हरेक क्षणले मलाई असिमित आनन्दको अनुभूत गराउनेछ। प्रिय साथी नेइमार, तिमीलाई जीवनको नयाँ सुरुवातका लागि बधाई तथा शुभकामना। फेरि भेटौला। तिमीलाई धेरै माया गर्ने।’
मेसीले इन्स्टाग्राममा यो सन्देश पोस्ट गर्दै ड्रेसिङ रुममा आफ्नो र नेइमारको सजाइएको जर्सी र बुटको फोटो राखेका छन्। उनले च्याम्पियन्स ट्रफी जित्दा यी दुईले खिचेको तस्बिर पनि पोस्ट गरेका छन्।
नेइमारले पनि मेसीको सन्देशको तुरुन्त उत्तर दिएका छन्। जसमा उनले लेखेका छन्, ‘धन्यबाद दाजु। तिमीलाई ‘मिस’ गर्नेछु, अकंल।’
नेइमार २०१३ मा बार्सिलोनामा आवद्ध भएका थिए। उनीहरुले सँगै सयभन्दा बढि खेल बार्सिलानाबाट संयुक्तरुपमा खेलेका थिए। यो जोडी मिलेर च्याम्पिन्स लिग, ला लिगा र कोपा डेल रेजस्ता महत्वपूर्ण उपाधि क्लबका लागि जितेका थिए।
नेइमार बुधबार बार्सिलोनाको ट्रेनिङ सत्र सुरु भएको आधा घण्टापछि मैदानमा पुगेका थिए। उनले अभ्यासमा भाग लिएनन्।