रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनको अदालतसमक्ष आफूले करौडो रुपैयाँ कर छलेको आरोप निराधार भएको र आफूले कुनै किसिमको कर छली नगरेको बयान दिएका छन्।
सोमबार पहिलो पल्ट अदालतमा बयान दिन गएका पोर्चुगिज स्टारले भने, ‘मैले आजसम्म कुनै कुरा लुकाएको छैन् र मेरो कर छली गर्ने नियत पनि होइन।’
३२ वर्षीय रोनाल्डोले अदालतमा दिएको बयान सार्वजनिक गर्ने क्रममा उनी आवद्ध खेल एजेन्सी गेस्टिफ्युटले बताएको छ। फोर्बस म्यागजिनले रोनाल्डोलाई यस वर्ष विश्वमा सर्वाधिक कमाइँ गर्ने खेलाडीको सूचीमा शीर्षस्थानमा राखेको थियो।
कर छलीको मुद्धामा रोनाल्डोका कट्टर प्रतिद्वन्दी बार्सिलोनाका लिओनल मेसीलाई पनि गत वर्ष दण्डीत गरिएको थियो। ‘मैले सधै आफ्नो आम्दानी सार्वजनिक गरेको छु र कर पनि तिर्दै आइरहेको छु। हामीले आफ्नो आम्दानी अनुसारको कर तिर्ने पर्छ। जसले मलाई चिनेका छन्, उनीहरुलाई थाहा छ म आफ्नो सल्लाहकारलाई सबै कुरा पारदर्शी राख्न र कर चुक्ता गर्न आदेश दिने गर्छु। म कुनै समस्या चाहदिन,’ उनले भने।
रोनाल्डोलाई १ करोड ७३ लाख डलर कर छली गरेको आरोप लागेको छ। उनी सोमबार म्याड्रिडमा रहेको पोजुइलो डे अलार्कोन अदालतमा उपस्थित भएका थिए।