बार्सिलोनाका सुपरस्टार लिओनल मेसीले गत वर्ष क्लब छोड्न चाहेको र पेप ग्वार्डिओलासँगै म्यानचेस्टर सिटीमा आवद्ध हुन चाहेको सार्वजनिक भएको छ।
खेलाडीहरुको क्लब स्थानान्तरणको विषयलाई लिएर टिभी ३ च्यानलले निमार्ण गरेको डकुमेन्ट्रीमा मेसीले गत वर्ष नै बार्सिलोना छोड्न चाहेको सार्वजनिक भएको हो। ‘जोकस फिस्कल्स’ नाम दिएको डकुमेन्ट्रीमा मेसीका बुवाले म्यानचेस्टर सिटीका कार्यकारी प्रमुख फेरान सोरियानोसँग सम्पर्क बनाएर आफ्नो छोराले बार्सिलोना छोड्न चाहेको अवगत गराएका थिए।
मेसीका बुवा जर्जेले आफ्नो छोरा ‘चेपुवा’मा परेको भन्दै उनको उद्धार गर्न आग्रह गरेका थिए।
यी दुईबीच टेलिफोन सम्पर्क ६ जुलाई २०१६ मा भएको थियो। त्यसको ४ दिनपछि ग्वार्डिओलाले मेसीलाई भेटेको बताइएको छ। त्यतिबेला ग्वार्डिओला छुट्टी मनाउन स्पेन फर्किएका थिए। ग्वार्डिओलाले यो खबर पाएपछि मेसीसँग भेट गरेको बताइएको छ।
मेसी त्यतिबेला कर छलीको आरोपमा २१ महिना जेल सजायको निर्णयबाट निकै बिचलित थिए। यसै कारण मेसीका बुवा जर्जेले आफ्नो छोरा क्याम्प नोउको चेपुवामा परेको बताएका थिए।
जर्जेले बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउलाई भेटेरै आफ्नो छोरालाई प्रिमियर लिगमा जान मार्ग प्रसस्त गरिदिन आग्रह गरेका थिए। जुन बार्टोमेउका लागि स्तब्ध पार्ने प्रस्ताव थियो।
यो घटनापछि क्लब अध्यक्ष तुरुन्त सक्रिय भएको र उनले मेसीलाई बोलाएर कुरा गरेको बताइएको छ। बार्टोमेउले मेसीलाई कर छलीको आरोपमा उनलाई कुनै प्रकारको अफ्ठेरो पर्न नदिने र उनको पक्षमा क्लब लड्ने आश्वासन दिएपछि मेसी र म्यानचेस्टर सिटीबीचको वार्ता भंग भएको थियो।