इटालीका महान खेलाडी रोबर्टो बाजियोसँग तुलना गरिएका फेडेरिको बेर्नारडेस्ची ४ करोड युरोमा फियोरेन्टिना छोडेर युभेन्ट्स क्लबमा आवद्ध भएका छन्। १० नम्बर जर्सीको हकदार मानिएका बेर्नारडेस्चीले यसको सट्टा ३३ नम्बर जर्सी पाएका छन्। १० नम्बर जर्सी आर्टेमिओ फ्रान्चीसँग रहने छ।
२३ वर्षीय बेर्नारडेस्चीको फियोरेन्टिना छोड्ने निर्णयलाई पनि बाजियोसँग तुलना गरिएको छ। १९९० मा बाजियो विश्व कीर्तिमानी रकम ८० लाख पाउण्डमा फियोरेन्टिना छोडेर युभेन्ट्स लागेका थिए। त्यतिबेला भियोलाका दर्शकहरुले फ्लोरेन्स शहरको बाटोमा प्रदर्शन गरेका थिए। यो प्रदर्शनलाई रोक्न प्रहरीहरुलाई हम्मे परेको थियो।
बेर्नारडेस्चीले आफू पनि बाजियोको ठूलो प्रसंसक रहेको बताउँदै उनीसँग आफ्नो तुलना नहुने स्पष्ट पारेका छन्। त्यसैले आफूले १० नम्बरको मूल्यवान जर्सी पहिरिन अस्विकार गरेको उनको भनाई थियो।
‘मैले ठिकै गरे जस्तो लाग्छ। म यो जर्सीको हकदार भएको प्रमाणित गरेर मात्र पहिरिने छु,’ उनले टुरिनमा आयोजित पत्रकार सम्मेलनमा भने।