म्यानचेस्टर युनाइटेडले सर्बियाका मिडफिल्डर नेमान्जा माटिकलाई उनको पूर्व क्लब चेल्सीबाट ४ करोड पाउण्डमा भित्र्याउन लागेको छ। २८ वर्षीय माटिकको अनुबन्धको प्रक्रिया छिट्टै टुँगो लाग्ने क्लबले आशा पनि राखेको छ। माटिक प्रिमियर लिगको नयाँ सत्रभन्दा अगाडि म्यानचेस्टर प्रवेश गर्ने तेस्रो खेलाडी बन्ने छन्।
यसअघि ३ करोड १० लाख पाउण्डमा डिफेन्डर भिक्टोर लिन्डेलोफलाई बेनिफिकाबाट म्यानचेस्टरले क्लबमा भित्र्याएको थियो। यस्तै। इभर्टनका स्ट्राइकर रामेलु लुकाकुका लागि क्लबले ७ करोड ५० लाख पाउण्ड खर्चेको थियो।
आइतबार नयाँ सत्रभन्दा अगाडि भालेरेङ्गालाई ३–० ले पराजित गरेपछि प्रशिक्षक जोसे माउरिन्होले भने, ‘हामी समाचार सुन्न आतुर छौं। उनी यहाँ आउन इच्छुक छन्।’
उनले क्लबमा ३१ नम्बर खाली रहेको तर्फ पनि संकेत गरे। माउरिन्होले दोस्रो पल्ट माटिकलाई आफ्नो टोलीमा सम्मिलित गर्न लागेका हुन्। यसअघि चेल्सीमा हुँदा उनले नै माटिकलाई अनुबन्धित गराएका थिए। माउरिन्होले २ करोड १० लाख पाउण्डमा बेनिफिकाबाट माटिकलाई स्टामफोर्ड ब्रिज ल्याएका थिए।
माटिकले गत इङ्लिस सिजन ३५ खेलमा १ मात्र गोल गरेका थिए। तर, एफए कपको सेमिफाइनलमा टोटेनहमविरुद्ध जितका लागि उनले गरेको प्रदर्शन उत्कृष्ट थियो। उनको बर्हिगमनपछि चेल्सीले फ्रान्सका तेमोई बाकायोकेलाई भित्र्याउने सम्भावना बलियो छ।