नयाँ सिजनको सुरु हुनुभन्दा अगाडि अमेरिकाको मियामीमा विश्वका दुई विरोधी क्लब स्पेनका रियल म्याड्रिड र बार्सिलोनाबीच भएको खेलमा बार्सिलोना ३–२ गोलले विजयी भएको छ।
अन्तर्राष्ट्रिय च्याम्पियन्स कपअन्तर्गत करिब ६६ हजार दर्शक उपस्थित भएको मयामीको हार्ड रक रंगशालामा लिओनल मेसीले ३ मिनेटमै गोल गरेर म्याड्रिडलाई स्तब्ध पारेका थिए। उनलाई आफैले अगाडि बढाएको बलमा रियलका डिफेन्डरले रोकेपछि डिफ्लेक्ट भएको बलमा लुइस सुआरेजले पुनः बल मिलाएका थिए। मेसीले डिबक्स भित्र ३ खेलाडीको घेराउ तोड्दै गोल गरेका थिए।
बार्सिलोनाका लागि अर्को गोल ६ मिनेटमै इभान राकिटिकले गरे। उनले नेइमारको पासमा गोल गरेका थिए। बार्सिलोनाले तीन वटै स्ट्राइकर मेसी, सुआरेज र नेइमारलाई सुरुमै उतारेको थियो।
६ मिनेटमा दुई गोलले पछाडि परेको म्याड्रिडले ३५ मिनेट भित्र २ गोल फर्काएको थियो। म्याड्रिडका लागि पहिलो गोल १३ मिनेटमा माटियो कोभासिकले गरे। उनले बार्सिलोनाको खराब डिफेन्सको फाइदा उठाउदै गोल गरेका थिए।
अर्को गोल असेन्सियोले ३५ मिनेटमा गरे। गत सिजन च्याम्पियन्स लिगको फाइनलमा गोल गरेका स्पेनका युवा स्ट्राइकर असेन्सियोलाई क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा रियलले सुरु देखि नै मैदानमा उतारेको थियो।
पहिलो हाफ २–२ गोलको बराबरीमा रोकिएको अवस्थामा ४९ मिनेटमा बार्सिलोनाका लागि गेरार्ड पिकेले निर्णायक गोल गरे। उनले ४९ मिनेटमा नेइमारको फ्रिकिकमा गोल गरेका थिए। यसबीच रियलले गोल फर्काउने थुप्रै प्रयास गरेको थियो। तर, त्यो सफल हुन सकेन्।