विश्व चर्चित दुई स्पेनिस क्लबको प्रतिदवन्दीता आइतबार बिहान नेपाली समयअनुसार ५ बजेर ५० मिनेटदेखि सुरु हुने भएको छ। स्पेनका दुई परस्पर विरोधी क्लब बार्सिलोना र रियल म्याड्रिड यो सिजनको सुरुवात हुनुभन्दा अगाडि अमेरिकामा भइरहेको अन्तर्राष्ट्रिय च्याम्पियन्स कपका लागि भिड्दै छन्।
अमेरिकाको मयामीस्थित ६५ हजार दर्शक क्षमताको हार्ड रक रंगशालामा आयोजना हुने यो खेलमा बार्सिलोनाले आफ्नो बलियो टिम उतार्ने सम्भावना छ। रियल म्याड्रिडमा क्रिस्टियानो रोनाल्डोले विश्राम लिए पनि गारेथ बेल, करिम बेन्जेमा र प्लेमेकर इस्कोलाई उतार्ने सम्भावना रहेको छ। रोनाल्डो कन्फिडरेशन कपका लागि पोर्चुगलको टोलीमा सम्मिलित भएयता रियलको अभ्यास सत्रमा फर्किएका छैनन्। बीचमा उनले कर छलीको आरोपमा क्लब छोड्ने खबर आएको थियो। तर, उनी रियलमा यो सिजन पनि बस्ने भइसकेका छन्।
बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेइमार विहिबार अभ्यासको क्रममा आफ्नै क्लबमा भर्खरै भित्रिएका डिफेन्डर नेल्सन सेमेडोसँग झगडा गरेर बाहिरिएका थिए। उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनीमा आवद्ध हुने सम्भावनाका बीच सेमेडोसँगको झगडालाई अर्थपूर्ण लिइएको छ।
त्यसैले बार्सिलोनाका थुप्रै समर्थकको अहिलेको चासो भनेको रियलविरुद्ध खेलमा उनी मैदानमा फर्किन्छन कि फर्किदैनन् भन्ने नै हो।
लिओनल मेसी र सुआरेजलाई सुरुमै उतार्ने सम्भावना बलियो छ।