चीनको १० वटा फुटबल क्लबले आफ्नो ऋण चुक्ता गरेको बताएको छ। चिनियाँ फुटबल संघले आफ्नो देशका १३ सुपर लिग क्लबलाई पुरानो बक्यौता चुक्ता नगरेको भन्दै प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो।
चिनियाँ सुपर लिगमा हाल १६ वटा क्लबआवद्ध छन्। चिनियाँ फुटबल संघले यसअघि क्लबहरुले खेलाडी अनुबन्धित गर्दा, मासिक रकम र बोनस तोक्दा लाग्ने शुल्क नतिरेको भन्दै क्लबहरुलाई चेतावनी दिएको थियो।
संघाई सेन्हुवा, जसले कार्लोस टेभेजलाई जनवरीमा र ओस्कारलाई संघाई सिपिजले अनुबन्धित गरेको थियो, उनीहरुको बक्यौता हालै चुक्ता गरेको जनाएको छ। चिनियाँ क्लबलाई केही साताअघि एसियाली फुटबल महासंघ (एएफसी) ले पत्र पठाउँदै जुलाई ११ देखि ३१ अगस्टसम्म सबै खेलाडीको बक्यौता चुक्ता गरिसक्नु पर्ने उर्दी लगाएको थियो। महासंघले बक्यौता रकम चुक्ता नभए आउँदो वर्ष आयोजना हुने एसियन च्याम्पियन्स लिगमा चिनियाँ क्लबलाई बाहिर राख्ने धम्की दिएको थियो। यसपछि संघ सक्रिय भएको हो।
सिपिजीले ब्राजिलियन मिडफिल्डर ओस्कारलाई ६ करोड पाउण्ड खर्चेको थियो। यस्तै, अर्जेन्टिनी स्ट्राइकर टेभेजलाई सेन्हुवाले ४ करोड पाउण्डमा भित्र्याएको थियो।