बार्सिलोनाका स्पेनिस डिफेन्डर गेरार्ड पिकेले ब्राजिलियन स्ट्राइकर नेइमारलाई क्लब नछोड्न आग्रह गरेका छन्। र, उनले अर्को सिजन पनि नेइमारलाई आफूसँगै क्याम्प नोउमा समय विताएको हेर्न चाहेको बताएका छन्।
पिकेले नेइमारको बार्सिलोना छोड्ने अड्कलको विषयमा ट्विट गर्दै भनेका छन्, ‘आधिकारिक नै त होइन, (उनी क्लब छोड्ने) मसँग आश्रित कुरा पनि होइन।’
उनले मंगलबार आफ्नो ट्विटमा नेइमार बार्सिलोनामै बस्ने आशा व्यक्त गरे।
‘नेइमारले मात्र भन्न सक्छन, उनी बार्सिलोनामा बस्ने कुरा। तर मलाई आशा छ, उनी बार्सिलोनामै रहनेछन्,’ पिकेले भने।
नेइमारलाई बेच्ने सम्बन्धमा बार्सिलोनाले २ सय २२ मिलियन युरोको ‘रिलिज क्लज’ राखेको छ। स्पेन र इङ्ल्यान्डबाट सार्वजनिक विभिन्न मिडिया रिपोर्टमा फ्रेन्च क्लब यति ठूलो रकम बार्सिलोनालाई उपलब्ध गराएर नेइमारलाई किन्ने पक्षमा छ। यस विषयमा क्लबको कुनै आधिकारीक धारणा बाहिर आएको छैन्। नेइमारले पनि केही बोलेका छैनन्।