नेपाल जेनजी फ्रन्टले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वको राजीनामा माग गरेको छ।
एन्फाले सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेको भन्दै मंगलबार नेपाल जेनजी फ्रन्टका सूचना सञ्चार समितिका यतिष ओझाले विज्ञप्ति जारी गर्दै नेतृत्वले राजीनामा दिनुपर्ने बताएका हुन्।
‘नेपाली फुटबललाई निरन्तर खोक्रो पार्ने र खेलाडीको भविष्यमाथि खेलवाड गर्ने, समयमै लिग आयोजना गर्न नसक्ने, खेलाडीलाई अवसरबाट वञ्चित गर्ने र नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा कमजोर बनाउने एन्फा नेन्तृत्वले नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुहुन अनुरोध गर्दछौं, ’ विज्ञप्तिमा भनिएको छ।
एन्फाले ए, बि र सी डिभिजनको चक्रलाई वर्षौंसम्म रोक्न खोजेको भन्दै फ्रन्टसहित खेलकुद प्रेमीहरूलाई स्तब्ध बनाएको विज्ञप्तिमा भनिएको छ।
‘हामी समस्त नेपाली फुटबल समर्थकलाई आह्वान गर्दछौं। अब चुप लागेर बस्ने समय छैन। एन्फाको यो फुटबल विरोधी निर्णयविरूद्ध आवाज बुलन्द गरौं,’ ओझाले भनेका छन्।
