अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएसँगै राष्ट्रिय फुटबल खेलाडी विरोधमा उत्रिएका छन्। 
नेपाल फुटबल खेलाडी संघले निकालेको विज्ञप्ति सेयर गर्दै राष्ट्रिय खेलाडीहरूले सामाजिक सञ्जालमार्फत् विरोध जनाएका हुन्। 
विरोध जनाउने खेलाडीमा रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्टदेखि एरिक विष्टसहितका अधिकांस राष्ट्रिय खेलाडी छन्। 
तीन वर्षअघि भएको ए डिभिजन लिगको विजेता टोली चर्च ब्वाइजका कप्तान र सो सिजन उत्कृष्ट खेलाडीको अवार्ड जितेका डिफेन्डर अनन्त तामाङले त ‘खेलाडीलाई जिउदै मारेको’ भनेर सामाजिक सञ्जालमा लेखेका छन्। 
‘हामी खेलाडीको अभिभावक संस्था एन्फाले आज क्लबसँग मिलेर एक विज्ञप्तिमार्फत अझै १३ महिना लिग नहुने घोषणा गर्यो। म आफू ए डिभिजन लिगको साविक विजेता चर्च ब्वाइज युनाइटेडको कप्तान तथा उक्त लिगको सर्वोत्कृष्ट खेलाडी पनि हुँ। सामान्य अवस्था हुन्थ्यो भने म त्यसपछि अझै २ संस्करणको लिगमा उपाधि जोगाउन वा जित्न खेलिरहेको हुन्थें, तर त्यो सौभाग्य मैले पाउन सकिन,’ उनको भनाइ छ।
‘हाल बंगलादेशको क्लबसँग आवद्ध रहेपनि हामी खेलाडीले नेपालको लिग भए फुकुवा हुने प्रावधान सम्झौतामा राखेका छौं, अझ कतिको मंसिरसम्म मात्र सम्झौता छ। आज मलाई साविक विजेताको ट्याग भारी भएको छ। म हरेक वर्ष लिग खेलेर च्याम्पियन बन्न चाहन्छु, एकपटक खेलेर सधैंभर होइन। लिग मेरो लागि मात्र होइन, मजस्ता हजारौँ खेलाडीको लागि हो। सबै ए, बी र सी डिभिजन क्लबका सरहरुलाई दश औंला जोडेर बिन्ति गर्छु, हामी खेलाडीलाई जिउँदै नमार्नुहोस्।’
यसअघि सोमबार एन्फा सचिवालय र १४ क्लबका प्रतिनिधि बसेर अर्को वर्षदेखि मात्र होम एन्ड अवेको आधारमा ए डिभिजन गर्ने सहमति गरेका थिए। 
यो वर्ष भने तीन वर्षअघि भएको ए डिभिजन लिगका शीर्ष ६ टोली र भोलिदेखि हेटौडामा हुने एन्फा प्रेसिटेन्ड लिगको सेमिफाइनलमा पुग्ने चार टोली गरी १० टोलीबीच राष्ट्रिय लिग गराउने सहमति भएको  थियो। 
राष्ट्रिय लिगमा गत संस्करणको च्याम्पियन चर्च ब्वाइजसँगै, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब,सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र न्युरोड टिमले प्रतिस्पर्धा गर्नेछन्। बाँकी ८ ए डिभिजन  क्लबको भने प्रतिनिधित्व हुनेछैन। 
राष्ट्रिय लिगमा रेलिगेसन व्यवस्था नहुने भएको हुँदा पनि लिगको रौनकतामा कमि आउने भन्दै कतिपयले विरोध गरेका छन्।