२०२७ एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत आज नेपालले भियतनामसँग खेल्दैछ।
समूह 'एफ' अन्तर्गको यो खेल नेपालको घरेलु मैदानमा हुने तय थियो। तर दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा नेपालले आफ्नो होम म्याच पनि भियतनाममै खेल्न लागेको हो। खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू हुनेछ।
नेपालले छनोटअन्तर्गत गत साता भियतनाममा आफ्नो तेस्रो खेल खेल्दा पराजय भोगेको थियो। गत बिहीबार घरेलु टोली भियतनामले नेपाललाई ३-१ गोलले पराजित गरेको थियो।
यसअघि नेपाललाई मलेसिया र लाओसले पराजित गरेका थिए।
समूहमा नेपाल मात्र अंकबिहीन छ। समूह विजेता एसियन कपमा पुग्ने प्रावधानअनुसार आजको खेलमा नेपाल पराजित भएमा छनोटबाट बाहिरिनेछ।
नेपालले आफ्नो पाँचौ खेलमा नोभेम्वरमा मलेसियामा खेल्ने तय छ। यो पनि होम म्याच भए पनि मैदान अभावका कारण खेल मलेसियामै हुनेछ। अन्तिम खेल भने नेपालले लाओससँग २०२६ को मार्चमा खेल्दैछ। लाओससँगको खेल पनि होम म्याच हो। यो खेलअघि नेपालले अन्तर्राष्ट्रिय मान्यताप्राप्त मैदान तयार गर्नु पर्छ। त्यसो गर्न नसके लाओससँगको खेल पनि दोस्रो देशमा खेल्नु पर्नेछ।