एएफसी महिला च्याम्पियन्स लिग २०२५/२६ को प्रारम्भिक चरणको समूह ‘बी’ को खेलमा नेपलको एपीएफ एफसी पराजित भएको छ। एपिएफलाई ३-० ले हराउँदै उज्वेकिस्तानको पिएफसी नसाफले सोमबार घरेलु मैदान मार्काजिय स्टेडियममा शानदार सुरुवात गर्यो।
पहिलो हाफमा नसाफले उत्कृष्ट प्रदर्शन गर्यो, जसमा दियोराखोन खाबिबुल्लायेभाले दुई गोल गरिन् भने माफ्तुना शोयिमोभाले थप एक गोल थपिन्।
यो जितसँगै उज्वेकिस्तानको टोली नसाफले तीन अंक प्राप्त गर्यो।
खेलको १३औँ मिनेटमा नसाफले अग्रता लियो। लारिना एकाटेरिनाको लामो दूरीको प्रहार बारमा ठोक्किएर फर्कियो र खाबिबुल्लायेभाले रिबाउन्डमा गोल गरिन्।
तीन मिनेटपछि, खाबिबुल्लायेभाले माफ्तुना शोयिमोभाको असफल प्रहारलाई नियन्त्रणमा लिँदै एपीएफकी गोलरक्षक अञ्जिला सुब्बालाई छक्याएर दोस्रो गोल गरिन्।
२१औँ मिनेटमा उनले हेडरमार्फत ह्याट्रिक पूरा गरेको ठानिए पनि उक्त गोल अफसाइडका कारण मान्य भएन।
नसाफले पहिलो हाफको अन्त्यअघि तेस्रो गोल गर्यो। एपीएफले बल क्लियर गर्न नसक्दा शोयिमोभाले टाढाबाट शक्तिशाली प्रहार गरी गोल गरिन्।
दोस्रो हाफमा एपीएफले केही सुधारिएको प्रदर्शन गर्यो र नसाफलाई रोक्दै अगाडि बढ्यो, तर नसाफकी गोलरक्षक माफ्तुना जोनिमकुलोभा खासै दबाबमा परिनन्।
६४औँ मिनेटमा नसाफकी नतालिया सिमाकिनाको हेडर पोस्टमा ठोक्कियो।
अब एपिएफले थाइल्यान्डको कलेज अफ एसियन स्कलर्सविरुद्ध अर्को कठिन चुनौतीको सामना गर्नेछ। थाइ क्लबले पहिलो खेलमा साउदी प्रो क्लब अल नारसलाई २-० गोलले हरायो।
समूह 'बी' को खेलमा एपिएफले साउदी अरेबियाको चर्चित क्लब अल नासर, आयोजक उज्वेकिस्तानको पिएफसी नासाफ र थाइल्याण्डको कलेज अफ एसियन स्कलर्ससँग प्रतिस्पर्धा गर्न लागेको हो।
एएफसी महिला च्याम्पियन्स लिगको यो दोस्रो संस्करण हो। प्रारम्भिक चरणमा अहिलेसम्मकै सर्वाधिक १९ टोलीले ५ समूहमा प्रतिस्पर्धा गर्दैछन्। हरेक समूहका विजेता र सबै समूहमध्येबाट उत्कृष्ट उपविजेता गरी कुल ६ टोली अर्को चरणमा प्रवेश गर्नेछन्।
यी ६ टोलीले एसियाका शीर्ष वरीयताका ६ क्लबहरू— मेलबर्न सिटी एफसी (अष्ट्रेलिया), सुवन एफसी वुमेन्स (दक्षिण कोरिया), टोकियो भर्डी बेलेजा (जापान), वुहान जियाङ्दा वुमेन्स एफसी (चीन), हो चि मिन सिटी वुमेन्स एफसी (भियतनाम) र बाम खातुन एफसी (इरान सँगै नोभेम्बरमा सुरु हुने १२ टोलीको समूह चरणमा खेल्नेछन्।
यस पटकको प्रतियोगितामा कम्बोडिया, उत्तर कोरिया, गुआम, किर्गिज गणतन्त्र र मंगोलिया गरी पाँच देशका क्लबहरूले पहिलो पटक महादेशीय प्रतियोगितामा सहभागिता जनाउँदैछन्।