२०२७ एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले बिहीबार भियतनामसँग खेल्दैछ। समूह ‘एफ’ को यो खेल हो ची मिनमा नेपाली समयअनुसार साँझ सवा छ बजे सुरु हुनेछ।
नेपाल र भियतनामबीच २२ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो। यसअघि नेपाल र भियतनामबीच सन् २००३ मा दुई पटक प्रतिस्पर्धा भएको थियो।
दक्षिण कोरियामा सन् २००३ को सेप्टेम्बरमा एसियन कप छनोटको समूह ‘ई’ अन्तर्गतको दुवै खेलमा नेपाल पराजित भएको थियो।
पहिलो खेलमा २-० गोलले पराजित भएको नेपालले दोस्रो खेलमा ५ गोल खाएको थियो।
यसरी भियतनामसँग अहिलेसम्म नेपालले जित र गोल गर्न सकेको छैन।
जारी तेस्रो चरणको छनोटमा पनि भियतनामले आफ्ना दुवै खेलमा जित निकालेको छ। उसले लाओसलाई पहिलो खेलमा ५-० गोलले हराउँदा दोस्रो खेलमा मलेसियामाथि ४-० गोलको जित निकालेको थियो।
नेपाल भने समूहको आफ्ना दुवै खेलमा पराजित भइसकेको छ। पहिलो खेलमा मलेसियासँग २-० ले हराएको नेपालले दोस्रो खेलमा लाओसविरूद्ध २-१ ले खेल गुमाएको थियो।
भियतनामसँग भोलि खेलेपछि नेपालले अर्को खेल पनि भियतनामसँग खेल्नेछ।
एक सातापछि नेपालमै खेल्नु पर्ने यो खेल पनि भियतनाममै हुनेछ। किनभने नेपालको घरेलु मैदानले अन्तर्राष्ट्रिय मान्यता नपाएपछि नेपालले आफ्नो होम म्याच पनि असोज २८ मा भियतनाममै खेल्न लागेको हो।
नेपाली टोली
किरण कुमार लिम्बु (गोलकिपर), विशाल सुनार (गोलकिपर), दिप कार्की (गोलकिपर), अनन्त तामाङ, कृतिश रत्न छुन्जु, कुशल देउबा, अन्जन बिष्ट, लाकेन लिम्बु, एरिक बिष्ट, मणीकुमार लामा, आयुष घलान, मनिष डाँगी, बिमल पाण्डे, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, दिनेश हेञ्जन, सुभास ठकुरी, जिलेस्पीजंग कार्की, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ
प्रमुख प्रशिक्षक: म्याट रोस