गत असोज १२ मा आएको बाढीका कारण डुबानमा परेको च्यासलस्थित रंगशालाको पुनर्निर्माणको काम सुरू भएको छ।
लगातारको झरीपश्चात आएको बाढीले पुरिँदा यो रंगशाला पूर्णरूपमा क्षतिग्रस्त भएर माटोले पुरिएको थियो भने यहाँका अफिस, कोठा र शौचालयहरूमा माटो भरिएको थियो।
सरकार मातहत खेलकुद क्षेत्रका आधिकारिक निकायहरूले खेल मैदानको पुनर्निर्माणमा खासै चासो नराखेपछि च्यासल क्लबको अगुवाइमा आफूहरूले पुनर्निर्माण सुरू गरेको च्यासल युथ क्लबका अध्यक्ष रमेश व्यञ्जनकारले सेतोपाटीलाई बताए।
यस्तै, राष्ट्रिय खेलकुद परिषदले आफूहरूको प्रस्तावलाई सकारात्मक रूपमा लिएर सहयोग गर्ने प्रतिबद्धता देखाएको भएता पनि मैदानको अपनत्व लिनुपर्ने अखिल नेपाल फुटबल संघ एन्फाले चासो नदेखाएको उनले बताए।
एक हप्तादेखि ललितपुर महानगरपालिका वडा नम्बर ९ ले दिएको एउटा डोजर र क्लबले व्यवस्था गरेको ३ वटा डोजर लगाएर सरसफाइ गरेको र अबको २ महिनाभित्र रंगशाला पुन: प्रयोगमा ल्याइने अध्यक्ष ब्यञ्जनकारले सेतोपाटीलाई जानकारी दिए।
तस्बिरहरू :