साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि नजिक पुगेको छ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो।
बंगलादेशका लागि कप्तान सविना खातुनले दुई गोल गर्दा तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन्।
तोहुराले १५, ३५ र ५८ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। सविनाले २६ र ३७ मिनेटमा गोल गर्न सफल भइन्।
त्यसअघि सातौं मिनेटमा ऋतु चक्माले बंलादेशका लागि पहिलो गोल गरिन्। यस्तै बंगलादेशका लागि सातौं गोल मसुरा प्रविनले ७२ मिनेटमा गरेकी थिइन्।
भुटानकी डेकी लाजोमले गरेको गोल सान्त्वनामा सीमित बन्यो।
अब उपाधिका लागि बुधबार बंगलादेशले नेपाल वा भारत मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भातरबीच आज साँझ साढे ६ बजे दोस्रो सेमिफाइनलमा खेल हुँदैछ।
सन् २०२२ मा नेपालमै भएको साफको सेमिफाइनलमा नेपालले भारतलाई हराएको थियो। फाइनलमा भने नेपालले बंगलादेशसँग हार ब्यहोरेको थियो।