साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले श्रीलंकाविरूद्ध पहिलो हाफमै चार गोल गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि रेखा पौडेलले दुई गोल गरेकी छन्। अघिल्लो खेलमा माल्दिभ्सविरूद्ध पाँच गोल गरेकी रेखाले बिहीबार श्रीलंकाविरूद्ध १३ र ३६ मिनेटमा गोल गर्न सफल भइन्।
रेखाले १३ मिनेटमा अमिषा कार्कीले गरेको क्रसमा डिबक्स भित्रबाट उत्कृष्ट भलिमार्फत् बललाई गोल पोस्टको दिसा दिएकी थिइन्।
३६ मिनेटमा रेखाले सावित्रा भण्डारी साम्बाले डिबक्स बाहिरबाट हानेको सशक्त प्रहारलाई गोल लाइन नजिक छुदा जाली चुमेको थियो।
त्यसअघि आठौं मिनेटमा सविता रानामगरले साम्बाको पासमा डिबक्स भित्रबाट गोल गरेर नेपाललाई अग्रता दिलाएकी थिइन्।
अघिल्ला दुई खेलमा अनुपस्थित साम्बाले ११ मिनेटमा लोभलाग्दो गोल गरेकी थिइन्। डिबक्स बाहिरबाट हानेको उत्कृष्ट प्रहारले सिधा गोलपोस्टको दिसा लिएको थियो।
आजको खेलमा नेपालले श्रीलंकालाई छ गोल अन्तरले पराजित गरेमा समूह ‘बी’ को विजेता हुनेछ भने भुटान उपविजेता हुनेछ।
समूह ‘बी’ को विजेताले आइतबार हुने सेमिफाइनलमा भारतसँग र उपविजेताले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछन्।