अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिनियर पुरुष राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रशिक्षकमा नवीन न्यौपानेलाई नियुक्त गरेको छ।
यसअघि मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसेको कार्यकाल नथपेको एन्फाले नयाँ प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो। नयाँ प्रशिक्षक नियुक्त प्रक्रिया सकिनुअघि न्यौपाने अन्तरिम प्रशिक्षक नियुक्त भएका हुन्।
एन्फा कम्प्लेक्समा सोमबार एन्फा महासचिव किरण राईले न्यौपानेलाई नियुक्ति पत्र हस्तान्तरण गरे।
त्यस्तै, चेतन घिमिरेलाई सहायक प्रशिक्षकमा र नवीन महर्जनलाई अन्तरिम गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी दिइएको छ। उनीहरुले पनि सोमबार महासचिव राईबाट नियुक्ति पत्र लिएका छन्।
कोचिङ टोलीले नोभेम्बरमा ताजिकिस्तानसँगको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीको व्यवस्थापन गर्नेछ।
नेपाली टोली खेलका लागि ताजिकिस्तान जाने तयारीमा छ।