नेपाली महिला राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी 'साम्बा' पछिल्लो एक वर्ष मैदान बाहिर रहिन्।
गत वर्ष महिला राष्ट्रिय लिगका क्रममा घुँडामा चोट लागेपछि एक वर्षदेखि मैदान बाहिर रहेकी साम्बा बिहीबारदेखि मैदान फर्किइन्।
चितवनको सारदानगरमा बिहीबारबाट सुरू भएको महिला लिगको पहिलो खेलमा साविक विजेता एपिएफले त्रिभुवन आर्मीलाई २-१ ले पराजित गर्दा साम्बा मैदान फर्किएकी हुन्।
५९ औं मिनेटमा एपिएफकी स्टार फरवार्ड साम्बा मैदान प्रवेश गरिन्।
१३ महिनापछि खेलमा फर्किएकी साम्बाले आर्मीका डिफेन्डरलाई व्यस्त बनाइन्।
साम्बाले पहिलेकै लयमा फर्कन प्रयास गरिरहेको बताइन्।
सेतोपाटीसँग कुरा गर्दै उनले विगतकै जस्तो खेल्ने लक्ष्य राखेर मैदानमा फर्किएको बताइन्।
‘अहिले नै पहिले जसरी खेल्न त नसकुँला तर खेल्ने अवधि बढाउँदै विगतकै लयमा फर्कन सक्छु भन्ने आत्मविश्वासका साथ मैदानमा आएकी छु,’ उनले भनिन्, ‘निकै लामो अन्तरालपछि खेलमा फर्कंदा उत्साहित छु।’
उनले चोटका कारण धेरै खेलहरू गुमाउनु पर्दा असाध्यै दुःख लागेको बताइन्।
‘मैले वर्ल्डकप क्वालिफायर राउण्ड, बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्न सकिनँ। त्यतिखेर म असाध्यै दुःखी भएँ,’ उनले भनिन्, ‘खेलाडीका लागि त्यो भन्दा दुःखको कुरो अरु हुनै सक्दैन।’
नौ महिनाअघि शल्यक्रियाका लागि साम्बा कतार पुगेकी थिइन्। शल्यक्रिया गरेको सात महिनापछि दुई महिना साम्बा नेपाल फर्किइन्।
उनी अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा कतार पुगेकी थिइन्। नेपाल एपिएफ क्लबकी फरवार्ड भण्डारी गत वर्षको महिला राष्ट्रिय लिगका दौरान घाइते भएकी थिइन्। नेपाल पुलिसविरुद्धको खेलमा उनी घाइते हुन पुगेकी थिइन्।
खेलको ६९औँ मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि उनी घाइते हुँदै मैदानबाट बाहिरिएकी थिइन्।
एमआरआई रिपोर्टमा उनको दायाँ घुँडाको लिगामेन्ट च्यातिएको देखिएको थियो। जसका कारण उनको शल्यक्रिया गर्नुपर्ने भनिएको थियो।
लिगमा उनले १० खेलमा ४३ गोल गरेकी थिइन्। महिला लिगमा हालसम्म कुनै पनि खेलाडीको यही नै उत्कृष्ट खेल प्रदर्शन हो।