एएफसी यू-२३ एसियन कप छनोटमा नेपालले खराब प्रदर्शन गरेको छ।
समूह ‘बी’ मा रहेको नेपालले सबै खेलमा हार बेहोर्दा कुनै गोल गर्न सकेन।
आइतबार अन्तिम खेलमा नेपालले लेवनानसँग ४-० को हार बेहोर्यो।
यसअघि नेपाल लगातार दुई खेलमा पराजित हुँदै छनोटबाट बाहिरिएको थियो।
नेपाल पहिलो खेलमा इरानसँग ४-० तथा दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग ६-० गोलले पराजित भएको थियो।
तीन खेलमा नेपालले १४ गोल खाँदा कुनै पनि गोल गर्न सकेन।
एएफसी यू-२३ छनोटमा नेपालले अघिल्लो संस्करणको छनोटमा पनि खराब प्रदर्शन गरेको थियो। कतारमा भएको छनोटमा नेपालले तीनै खेलमा हार बेहोर्दा ८ गोल खाएको थियो भने कुनै गोल गर्न सकेको थिएन। मार्च २०१९ मा भएको छनोटमा नेपाललाई ओमानले १-०, कतारले ५-० र अफगानिस्तानले २-० ले हराएका थिए।
२०१७ को छनोटमा पनि नेपालले तीनै खेलमा हार बेहोर्दा ९ गोल खाएको थियो। त्यतिबेला पनि नेपालले कुनै गोल गरेको थिएन।
सन् २०१५ मा पनि नेपालले खेलेका चारै खेलमा हार बेहोर्यो। त्यतिबेला नेपालले १७ गोल खाएको थियो।
सन् २०१२ को छनोटमा नेपालले खेलेका चार मध्ये एक खेलमा जित निकालेको थियो। त्यतिबेला नेपालले बंगलादेशलाई ४-१ ले हराएको थियो। यो नेपालले यू-२३ छनोटमा हात पारेको पहिलो र एक मात्र जित हो।