बंगलादेशमा भएको यू–२० महिला साफ च्याम्पियनसिपमा नेपालीका फरवार्ड मीना देउवाले छ खेलमा सात गोल गरेकी थिइन्।
मंगलबार स्वदेश फर्किएपछि मीनाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भए पनि बिना डर र दबाब खेल्ने प्रयास गरेको बताइन्।
सोमबार बंगलादेशमा सकिएको च्याम्पियसिपमा नेपाल उपविजेता बनेको थियो। महत्वपूर्ण तथा अन्तिम खेलमा बंगलादेशसँग ४-० गोलले पराजित भएपछि नेपाल उपविजेतामा सीमित बनेको थियो।
आफूले सोचेअनुरूप खेल्न सकेकोमा खुसी रहेको उनको भनाइ छ। अन्तिम खेलबाहेक सबै खेलमा राम्रो प्रदर्शन गरेको उनले स्वीकार गरिन्। बंगलादेशविरूद्ध पहिलो खेलमा अन्तिम समय गोल ब्यहोर्दा हार ब्यहोर्नुपर्दा धेरै दु:ख लागेको उनले उल्लेख गरिन्। सो खेलमा नेपाल ३-२ ले पराजित भएको थियो।
यसपल्ट जितेर नै जान्छौँ भन्ने लक्ष्यसहित खेले पनि बंगलादेशविरूद्धको अन्तिम खेलमा नतिजा फरक आएको मीनाले बताइन्। अन्तिम खेलमा नेपाल ४-० गोलले हारेको थियो।
तीन गोल खाँदासम्म फर्कन्छौँ भन्ने आत्मविश्वास रहेको स्ट्राइकर मीनाले उल्लेख गरेकी छन्। गोलकिपर र डिफेन्सबीच तालमेल पनि नमिल्दा खेलमा थप समस्या भएको उनी बताउँछिन्। बङ्गलादेशको क्विक फरवार्ड लाइन र आफ्नो डिफेन्स लाइनमा समस्या हुँदा खेलमा अफ्ठ्यारो भएको उनले बताइन्। प्रशिक्षकहरूको योजनाअनुरूप मैदानमा प्रदर्शन गर्न सके सिनियर टोलीमा स्थान बनाउन सकिने मीनाको विश्वास छ।
नेपाली टोलीकी कप्तान बिर्सना चौधरीले सकेसम्म राम्रो खेल्ने लक्ष्य भए पनि सफल नभएको बताइन्। डिफेन्स लाइनमा समस्या हुँदा खेलमा असर परेको उनले बताइन्। मिडफिल्ड र डिफेन्सबीच पनि तालमेल नमिलेको उनी बताउँछिन्।
नेपालकी पूर्णिमा राईले उक्त प्रतियोगितामा १० गोल गर्दै गोल्डेन बुट पाइन्। पूर्णिमाले यो सङ्ख्यामा गोल गर्छु भन्ने नरहे पनि स्ट्राइकरको भूमिकाअनुरूप काम गर्न सकेकोमा खुसी लागेको बताइन्। तर अन्तिम खेलमा गोल गर्न नसक्दा आफूलाई धेरै दुख लागेको उनी बताउँछिन्।
बङ्गलादेशले लामो समयदेखि तयारी गर्दा टिम सेट भएको र आफूहरूले एक महिनाको मात्र तयारी गरेकोले खेलमा प्रभाव देखिएको उनको भनाइ छ। आफ्नो टोलीले पनि राम्रो अनुभव पाए बङ्गलादेशजस्तो प्रदर्शन सम्भव रहेको उनी बताउँछिन्। लगातार मेहनत गरे राष्ट्रिय टोलीसम्म पुग्नसक्ने उनको विश्वास छ। —न्युज एजेन्सी नेपाल