स्पेनिस ला लिगामा रियल म्याड्रिड र सेभिया विजयी भएका छन्। शनिबार राति भएको खेलमा रियलले १० खेलाडीमा समेटिएको इल्चेलाई उसैको मैदानमा २–१ गोलले हरायो। अर्को खेलमा सेभियाले ओसासुनालाई २–० गोलले पराजित गर्यो।
जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ। ११ खेलबाट रियलको २४ अंक छ। दोस्रो स्थानमा उक्लिएको सेभिया र तेस्रो स्थानमा रहेको रियल सोसिडाडको पनि समान २४ अंक छ। रियलसँग पराजित इल्चे १० अंक सहित १५औं स्थानमा छ। सेभियासँग हारेको ओसासुना १९ अंक सहित सातौं स्थानमा छ।
रियलको जितमा दुवै गोल भिनिसियस जुनियरले गरे। इल्चेका पेरे मिल्लाले सान्त्वना गोल फर्काए। भिनिसियसले २२औं मिनेटमा लुका मोड्रिचको पासमा गोल गरेका थिए। ७३औं मिनेटमा भिनिसियसले ब्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर बनाए।
जारी लिगमा भिनिसियसको यो ब्यक्तिगत सातौं गोल हो। उनी लिगमा सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा छन्। शीर्ष स्थानमा रहेका रियलकै कप्तान करिम बेन्जेमाले नौ गोल गरेका छन्।
यसअघि ६३औं मिनेटमा राउल गुटी रातो कार्ड पाउँदै बाहिरिएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो। तर पनि इल्चेले ८६औं मिनेटमा गोल फर्कायो।
अर्को खेलमा सेभियालाई जिताउन डिएगो कार्लोस र लुकास ओकम्पोसले गोल गरे। कार्लोसले ४०औं मिनेटमा इभान राकिटिकको पासमा गोल गरेका थिए। लुकासले ६०औं मिनेटमा गोल गर्दै सेभियाको अग्रता दोब्बर बनाए।
घरेलु मैदानमा भएको अर्को खेलमा बार्सिलोना डिपोर्टिभो अलाभेससँग १–१ गोलको बराबरीमा रोकिएको छ। बार्सिलोनाका लागि मेम्फिस डिपाएले गोल गरे। अलाभेसका लुइस रियोजाले बराबरी गोल फर्काए।
डिपाएले ४९औं मिनेटमा जोर्डी अल्वाको पासमा गोल गरेका थिए ।
तर बार्सिलोनाको अग्रता लामो समय टिकेन। ५२औं मिनेटमा लुइसले जोसेलुको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।
अघिल्लो खेलमा रायो भालेकानोसँग १–० गोलले पराजित भएपछि बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो।
बराबरीसँगै ११ खेलबाट १६ अंक बनाएको बार्सिलोना नवौं स्थानमा छ। १० अंक बनाएको अलाभेस १६औं स्थानमा छ। अर्को खेलमा भ्यालेन्सियाले भिल्लारियललाई २–० गोलले पराजित गरेको छ।