आगामी कात्तिक २९ गतेदेखि आयोजना हुने सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने भएका छन्।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रबार भएको तालिका सार्वजनिक कार्यक्रमबाट फ्रेन्ड्स र सातदोबाटो युथ क्लबबीच उद्घाटन खेल हुने टुङ्गो लागेको हो । उद्घाटन खेल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कात्तिक २९ गते साँझ ५ बजे हुनेछ।
पहिलो चरणमा दोस्रो दिन कात्तिक ३० गते हिमालयन शेर्पा विरुद्ध संकटा एन्फामा खेल्दा थ्री स्टार क्लबले दशरथ रंगशालामा च्यासलको सामना गर्नेछ । तेस्रो दिन मंसिर १ गते एन्फामा जावलाखेल र मनाङ खेल्दा रंगशालामा ब्रिगेड ब्वाइज क्लब र एपीएफ खेल्नेछन् । चौथो दिन मंसिर २ गते त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब एन्फामा खेल्दा दशरथ रंगशालामा मच्छिन्द्र र न्यु रोड टिम (एनआरटी) खेल्नेछन् ।
पहिलो चरणका अन्य खेल दशरथ रंगशाला र एन्फा दुवै मैदानमा हुने आयोजक एन्फाले जानकारी दियो। दिउँसो १२ बजेको खेल एन्फा कम्प्लेक्समा हुनेछन् भने दिउँसो ३ बजेको खेल दशरथ रंगशालामा हुनेछ।
लिगको तेस्रो चरणपछिका खेल नयाँ मैदान च्यासलस्थित टेक्निकल सेन्टर र मनाङका केही खेल पोखरा रंगशालामा हुने एन्फाले जनाएको छ ।
एन्फाले हाललाई सुरूवाती २ चरणको मात्र खेल तालिका सार्वजनिक गरेको छ। त्यसपछिको तालिका सार्वजनिक भए पनि खेलस्थल भने तोकिएको छैन ।
सिंगल राउन्डको लिगको विजेताले उपाधि जित्नेछ । फागुन १४ गते सम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदैछन्। दुई टोली रेलिगेशनमा घटुवा हुनेछन्।
लिगमा कुल १३ चरण र ९१ खेल हुनेछ। लिग विजेता टोलीले ७५ लाख, उपविजेताले ५० लाख तथा तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले गोल्डेन बल प्राप्त गर्नेछ भने सर्वाधिक गोलकर्ताले गोल्डेन बुट तथा उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स प्राप्त गर्नेछन्। यस्तै उदियमान खेलाडीले नगद पुरस्कार पनि प्राप्त गर्नेछन्।
