अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकको रुपमा नेपाल फर्कन सकारात्मक देखिएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले बुधबार छलफल गरेपछि अलमुताइरी नेपाल फर्कन सकारात्मक भएका हुन्।
अध्यक्ष शेर्पा र अलमुताइरीबीच बुधबार कतारमा छलफल भएको थियो। छलफलपछि उनी नेपाल फर्कन सकारात्मक देखिएको अध्यक्ष शेर्पाले सेतोपाटीलाई जानकारी दिए।
शेर्पाले सामाजिक सञ्जालमा अलमुताइरीसँग छलफल भएको भन्दै तस्बिर समेत सार्वजनिक गरेका छन्।
यसअघि अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल प्रमुख प्रशिक्षकको रूपमा अन्तिम भएको बताएका थिए।
यद्यपी साफले प्रतिबन्ध लगाएका कारण उनले नेपाली टिमलाई फाइनल भने खेलाउन पाएनन्।
गत शनिबार भएको साफको फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो।
२८ वर्षको साफको इतिहासमा पहिलो पटक फाइनल खेलेको नेपाल उपविजेतामै सीमित बनेको थियो। फाइनलमा नेपाललाई भारतले ३-० ले पराजित गरेको थियो।
फाइनलपछि अलमुताइरी माल्दिभ्सबाटै आफ्नो देश कुवेतका लागि प्रस्थान गरेका थिए। यद्यपी उनी अहिले कतारमै रहेको एन्फा अध्यक्ष शेर्पाले बताए।
फाइनलपछि उनले दिएको अन्तर्वार्तामा दुई साता आराम गर्ने र एन्फाले चाहेमा नेपाल फर्कने प्रतिक्रिया दिएका थिए।
अलमुताइरी गत चैतमा नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए। त्यहिबेला एन्फाले उनीसँग एक वर्षको सम्झौता भएको बताएको थियो।
तर अलुमाइरीले नेपालसँगको सम्झौता यहिँ महिना सकिने भन्दै सार्वजनिक अभिव्यक्त दिएका थिए।
अलमुताइरीलाई कतार फुटबल एसोसिएसनले नेपालमा प्रशिक्षण गर्न गत वर्ष पठाएको थियो।
नेपाललाई सहयोगस्वरूप प्रशिक्षक उपलब्ध गराएको कतारले नै अलमुताइरीलाई तलब र सुविधा दिने एन्फाको भनाइ छ। एन्फाले नेपालमा रहँदा अलमुताइरीको बस्ने व्यवस्था मिलाउँदै आएको छ।