साफ च्याम्पियनसिपअन्तर्गत नेपालले अहिले राति ९:४५ बजे श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेलका लागि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्लेइङ-११ सार्वजनिक गरेका छन्।
जसमा गोलकिपरमा कप्तान किरणकुमार लिम्बु छन्। डिफेन्डरमा गौतम श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ र सुमन अर्याल छन्।
मिडफिल्डमा तेज तामाङ, पुजन उपरकोटी र विशाल राई छन्। विशाल अघिल्लो खेलमा पहिलो रोजाइमा थिएनन्।
यस्तै फरवार्डमा अन्जन विष्ट, नवयुग श्रेष्ठ र सुमन लामा छन्। सुमन लामा पनि माल्दिभ्सविरुद्ध पहिलो रोजाइमा थिएनन्।
माल्दिभ्सविरुद्ध पहिलो रोजाइमा खेलेका डिफेन्डर दिनेश राजवंशी र मिडफिल्डर सुजल श्रेष्ठ टिममा छैनन्।
सोमबार मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली टिम जितका लागि मैदान उत्रने प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन्। खेल नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ।
साफमा नेपाल र श्रीलंकाबीच अहिलेसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ। ती मध्ये नेपालले तीन खेलमा हार, एक खेलमा बराबरी र एक खेलमा जित हात पारेको छ।
साफमा नेपालले पछिल्लो पटक सन् २०१५ मा श्रीलंकाविरुद्ध खेलको थियो। सो खेलमा नेपाल १-० गोलले पराजित भएको थियो।
नेपालले सन् १९९९ को साफमा श्रीलंकालाई हराएको थियो। भारतमा भएको खेलमा नेपाल ३-२ ले विजयी भएको थियो। सो खेलमा नेपालका लागि नरेश जोशीले ह्याट्रिक गरेका थिए। त्यसयता नेपालले साफमा श्रीलंकालाई हराउन सकेको छैन।
समग्र तथ्यांक हेर्ने हो भने नेपाल र श्रीलंकाबीच १७ भिडन्त भएको थियो। जसमा नेपाल ३ खेलमा मात्र विजयी भएको छ। ८ खेल बराबरीमा सकिँदा नेपाल ६ खेलमा पराजित भएको छ।
यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।
पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।
साफमा नेपालको खेल
नेपाल भर्सेस माल्दिभ्स - असोज १५ गते - राति ९:४५ बजे (नेपाल १-० ले विजयी)
नेपाल भर्सेस श्रीलंका - असोज १८ गते - राति ९:४५ बजे
नेपाल भर्सेस भारत - असोज २४ गते - राति ९:४५ बजे
नेपाल भर्सेस बंगलादेश - असोज २७ गते - अपरान्ह ४:४५ बजे